Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


नेपालले नेदरल्यान्ड्सलाई दियो २१७ रनको लक्ष्य, सोमपालले रचे कीर्तिमान


0
Shares

काठमाडौं, साउन १८ । नेदरल्यान्ड्सविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले सुधारोन्मुख ब्याटिङ प्रदर्शन गरेको छ ।

पहिलो खेलमा १३४ रनमै रोकिएर ५५ रनले पराजित भएको नेपालले दोस्रो खेलमा शुक्रबार ४८ ओभर ५ बल क्रिजमा टिकेर २१६ रन बनायो ।

सोमपाल कामी र कप्तान पारस खड्काको आकर्षक अर्धशतककोे मद्दतले सम्मानजनक योगफल तयार भएको हो ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका तर्फबाट सबैभन्दा बढी रन बनाउने कीर्तिमान रचेका सोमपालले ४६ बलमा ३ छक्का र ५ चौकाको मद्दतले ६१ रन जोडे ।

त्यस्तै कप्तान पारसले २ छक्का र ६ चौकाको मद्दतले ६९ बल खेल्दै ५१ रन बनाए ।

नेदरल्यान्ड्सको एम्सटेलभिन मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ८८ रन जोड्दा ५ विकेट गुमाएको अवस्थामा छैटौं विकेटका लागि पारस र आरिफ शेखबीच ४७ रनको साझेदारी भएको थियो ।

त्यसैगरी, नवौं विकेटका लागि सोमपाल र सन्दीप लामिछानेबीच ४१ रनको साझेदारी भयो ।

त्यसअघि, पहिलो विकेटका लागि २९ रनको साझेदारी गर्नेक्रममा नेपालका लागि पहिलो अर्धशतक बनाउन सफल ज्ञानेन्द्र मल्लले १३ रनमात्रै जोड्न सके ।

दीपेन्द्रसिंह ऐरी र सुवास खकुरेलले समान १९/१९ रन, आरिफ शेखले १६, सन्दीप लामिछानेले ८, रोहितकुमार पौडेलले ६, अनिलकुमार शाह र ललितसिंह भण्डारीले समान ४/४ तथा वसन्त रेग्मीले १ रन जोडे ।

यसअघि, बुधबार भएको पहिलो खेलमा १९० रनको चुनौती पछ्याउनेक्रममा नेपाल १३४ रनमा आउट हुँदा ५५ रनले पराजित भएको थियो ।