
काठमाडौं, पुस २६ । मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।
मच्छिन्द्र १–० जावलाखेल
छैटौं चरणसम्म अपराजित रहनेक्रममा मच्छिन्द्रले शनिबार जावलाखेल युथ क्लबलाई पराजित गर्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेललाई १–० ले पराजित गर्दै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।
विजयी गोल
३१औं मिनेटमा मच्छिन्द्रका विशाल राईले गरेको गोल नै खेलमा निर्णायक बन्यो ।
१३ अंक
जितसँगै ६ खेलबाट १३ अंक जोड्दै मच्छिन्द्र लिग तालिकाको शीर्ष स्थानमा पुगेको हो । समान खेलबाट ९ अंकसहित जावलाखेल पाँचौं स्थानमा छ ।
मनाङ ०–० हिमालयन शेर्पा
छैटौं चरणको दोस्रो खेलमा साविक विजेता मनाङ–मर्स्याङ्दी क्लबले हिमालयन शेर्पा क्लबसित बराबरी खेलेको छ ।
शनिबारै दशरथ रंगशालामा भएको खेलमा १० खेलाडीमा सीमित मनाङ हिमालयन शेर्पासित गोलरहित बराबरीमा रोकिएको हो ।
दुवै टोलीले पाएका केही अवसरलाई गोलमा परिणत गर्न सकेनन् । बराबरीसँगै दुवै टोलीले एक/एक अंक बाँडे ।
रातो कार्ड
खेलको ७२औं मिनेटमा ‘खतरनाक फउल’गरेपछि मनाङका सुरज विश्वकर्मालाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदानबाहिर पठाएका थिए ।
बराबरीसँगै मनाङले शीर्ष स्थानमा पुग्ने मौका गुमायो । मनाङ पनि अहिलेसम्म अपराजित छ ।
अंकतालिका
मनाङ ६ खेलबाट १२ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ४ अंकसहित हिमालयन शेर्पा ११औं स्थानमा छ ।
त्रिभुवन आर्मी क्लब ५ खेलबाट १२ अंक नै जोड्दै दोस्रो स्थानमा रहेको छ । समान खेलबाट १० अंकसहित थ्रीस्टार क्लब चौथो स्थानमा छ ।
नेपाल पुलिस क्लब ५ खेलबाटै ८ अंकसहित छैटौं, समान खेलबाट संकटा क्लब ७ अंकसहित सातौं, ६ अंकसहित ब्रिगेड ब्वाइज क्लब (बीबीसी) आठौं, न्यूरोड टिम (एनआरटी) ५ अंकसहित नवौं, ५ अंक नै जोडेको च्यासल युथ क्लब १०औं स्थानमा रहेको छ ।
यसैगरी, सशस्त्र प्रहरीको एपीएफ क्लब ४ अंकसहित १२औं, २ अंकसहित फ्रेन्ड्स क्लब १३औं र अंकविहीन सरस्वती युथ क्लब पुछारमा रहेको छ ।
आइतबारका खेल
लिगअन्तर्गत् आइतबार पनि दुई खेल हुँदैछन् ।
दशरथ रंगशालामै मध्याह्न १२ बजे हुने खेलमा थ्रीस्टार र फ्रेन्ड्स क्लब आमने–सामने हुँदैछन् । त्यस्तै, दिउँसो ३ बजे हुने खेलमा बीबीसी र सरस्वती युथ क्लब भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्