२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


कात्तिकमै घर जानेलाई डीआइजीको फुली किन ?


104
Shares

दीपक श्रेष्ठ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँड आफू निकटका एसएसपीहरुलाइ डिआइजीमा बढुवा गरेर बिदा गर्ने तयारीमा लागेका छन । अवकाशपछिको फाइदाका लागि प्रहरी संगठनको मर्यादा नै उल्लंघन हुने गरी बढुवा गर्ने तयारीप्रति प्रहरी प्रधान कार्यालय भने सहमत छैन । गृह मन्त्रालयले यही कात्तिकदेखि फागुनभित्र अवकास पाउन लागेका ६ जना एसएसपीहरूलाई बढुवाको तयारी गरेको बुझिएको छ ।

नेपाली कांग्रेस र विशेषगरी गृहमन्त्री बालकृष्ण खाँड निकट रहेका एसएसपीहरुलाई अवकाशपछि फाइदा पुर्याउने उद्धेश्यले डीआइजीमा बढुवा गर्न खोजिएपछि प्रहरी संगठनभित्र असन्तुष्टि चुलिएको हो । ४ महिना भित्र अनिवार्य अवकाश हुन लागेका एसएसपीहरुलाई अवकाशपछि फाइदा पुर्याउनका लागि डीआइजीको दरबन्दी थप्ने खेलमा गृहमन्त्री खाँड लागेका छन् ।

जुन राज्यका लागि सधैंका लागि बोझ थप्ने काम मात्रै हो । यही फागुन महिना भित्र अवकाश पाउने एसएसपिहरुमा नरबहादुर खत्री, बिक्रमबहादुर चन्द, शेखर कोइराला, हरिराज वाग्ले, सुशील कुमार यादव र पूजा सिंह रहेका छन । उमेर हदका कारण घर जाने बेला भएकाहरुलाई बढुवाको फूली थपिदिनुभन्दा नयाँ र सक्षम एसएसपीहरूलाई अवसर दिनु उपयुक्त हुने प्रहरी नेतृत्वको धारणा रहेको छ ।

बृत्ति बिकाश, नेतृत्व र जिम्मेवारी जस्ता आधारलाइ लिएर दरबन्दी थप्ने, घटाउने गर्नु पर्नेमा आफ्ना मान्छेलाइ फाइदा पुर्याउनका लागि दरबन्दि थप्ने र आफ्नो मान्छे नपरे घटाउने जस्तो प्रवृत्तिले संगठनलाई कमजोर मात्रै बनाउने पूर्व प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल बताउनु हुन्छ ।

६ जना डीआईजीको नयाँ पद सिर्जना गर्दा राज्यलाई अनावश्यक आर्थिक भार पर्ने र प्रहरी संगठनमा नयाँ अधिकृतको वृत्ति विकास अवरुद्ध हुने हुदा अवकाश पाउन लागेकाहरुलाई फाइदा पुर्याउन दरबन्दी सिर्जना गर्नु राम्रो नहुने मल्ल बताउँहुन्छ । नेपाल प्रहरीमा हाल १९ जना डीआइजीको दरबन्दी छ । गृह मन्त्रालय भने ६ वटा डीआइजीको दरबन्दी सिर्जना गरेर २५ वटा पुर्याउने प्रक्रियामा अघि बढेको छ । यसै पनि राजनीतिक हस्तक्षेपले थिलोथिलो भएको प्रहरी संगठनमा मनपरी कार्यकर्ता पोस्ने प्रवृत्ति हावी हुने हो भने ब्यावसायिकहरु पुलिसमा निराशा बढ्ने निश्चित छ ।