Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


नेपालको नवीकरणीय ऊर्जामा सहयोग गर्न मन्त्री पुनको आग्रह


0
Shares

काठमाडौं, पुस २५ । संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच नेपालको नवीकरणीय ऊर्जाका विविध आयामकाबारेमा छलफल भएको छ ।

भेटमा मन्त्री पुनले भविष्यमा नवीकरणीय ऊर्जाको विकासमा सहकार्यको प्रस्ताव गरेको मन्त्री पुनका प्रमुख स्वकीयसचिव दुर्गाप्रसाद चापागाईंले जानकारी दिएका छन् ।

हाल नेपालमा स्थीर सरकार रहेकाले नीतिगत स्थीरता हुने भन्दै उनले ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि उपयुक्त अवसर र वातावरण रहेको उल्लेख गरे ।

मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि आग्रहसमेत गरे ।

सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको तथ्य जानकारी गराउँदै उनले त्यसको १० देखि १५ प्रतिशत योगदान सौर्यऊर्जाको हुने बताए ।

वर्षमा ३६० दिन घाम लाग्ने भएकाले नेपाल जलविद्युत्सँगै सौर्यऊर्जाका लागि पनि उपयुक्त स्थान भएको मन्त्री पुनको भनाइ थियो ।

सरकारले सौर्यऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र स्थापना गरेको र यसले संस्थागतरूपमा काम गरिरहेको उनको भनाइ थियो ।

महानिर्देशक क्यामेराले नेपालले सौर्यऊर्जाको विकासलाई उच्च प्राथमिकतामा राखेकामा सराहना गरे ।

महत्वपूर्ण सदस्य राष्ट्रको हैसियतमा नेपाललाई भविष्यमा सौर्यऊर्जा प्रवर्द्धनका लागि संघले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको चापागाईंले जानकारी दिएका छन् ।