
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक गतिविधिले गर्दा कांग्रेस कमजोर भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले नेतृत्वका कारण पार्टी कमजोर भएको बताउनुभयो ।
‘नेतृत्वले अलोकतान्त्रिक काम गर्दा पार्टीले अहिलेको दुर्दशा भोग्नुपरेको छ । लोकतान्त्रिक पार्टीभित्र नै अलोकतान्त्रिक गतिविधि भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘कांग्रेस कमजोर हँुदा कम्युनिष्टहरूले मौका पाए, तर पाएको मौकामा उनीहरू देश विगार्न लागे, संविधामाथि निरन्तर प्रहार गरे ।’
नेता सिंहले संविधान र लोकतन्त्र जोगाउनको लागि कांग्रेस नेतृत्वको सरकार बनेको बताउनुभयो । वर्तमान सरकारले जनताको भावना र इच्छा अनुसार काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
१३ औं महाधिवेशन भएको दुई महिना भित्रमा गठन हुनुपर्ने विभागहरू त्यसअनुसार गठन हुन नसक्दा महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्व असफल भएको उहाँको आरोप छ । नेतृत्व सुरुदेखि नै विधिविधान विपरीत काम गर्न लागि परेको उहाँले बताउनुभयो ।
पार्टीको विधान अनुसार काम गर्न नसक्दा अझै पनि महाधिवेशन हुनेमा कार्यकर्ताहरूले आंशका व्यक्त गरिरहेको नेता सिंहको भनाइ छ । अहिलेकै अवस्था रहिरहे भविष्यमा कांग्रेस कहाँ छ भनेर खोज्नुपने अवस्था आउने भन्दै उहाँले कांग्रेसले प्रजापरिषद्को बाटो समातेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्