१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


‘सेज’मा देखिएका समस्या ‘अन द स्पट’ समाधान गर्छौं : मन्त्री भट्ट


0
Shares

काठमाडौं, पुस २४ । उद्योग, वाणिज्य तथा अपूर्तिमन्त्री लेखराज भट्टले विशेष आर्थिक क्षेत्र (सेज)मा देखिएका समस्या ‘अन द स्पट’ समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समस्या समाधान गर्न मन्त्रालयले समिति नै बनाएर अनुगमन गर्ने उनले उल्लेख गरे ।

सेजका पूर्वधारहरु अझै पूर्ण हुन सकेको छैन । कतिपय उद्योगीले त सेजमा उद्योग सन्चालन गर्ने भनेर राखेको प्रस्ताव आवश्यक सुविधा नपाएको भन्दै बाहिरिएको अवस्थामा मन्त्री भट्टले आफूसहितको टोली गएर अनुगमन गर्ने र समाधानमा लाग्ने प्रतिबद्धता जनाएका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र समुन्नति फाउन्डेसनले भैरहवा सेजको अवस्थाबारे गरेको अन्तरक्रियामा मन्त्री भट्टले राज्यमन्त्री, सचिवलगायतको टोली नै बनाएर आफू सेज अनुगमनमा जाने र व्यावहारिक समस्या तत्काल समाधान गरिने उल्लेख गरेका हुन् ।

निर्यात वृद्धि गर्नका लागि ल्याइएको सेजमा उद्योगी आकर्षिक गर्न नीतिगत सुधारको काम पनि भइरहेको मन्त्री भट्टको दाबी छ ।

सेजनले गरेको अध्ययनअनुसार २००१ देखि भैरहवा सेजको प्रक्रिया सुरु भएकामा अहिलेसम्म तीनओटा उद्योग सन्चालन भएका छन् । १३ ओटाले उद्योग सन्चालनको प्रतिबद्धता गरेको र पाँचओटा फिर्ता भएका छन् ।

फिर्ता भएका उद्योगहरूले सेज जुन अवधारणाबाट आउनुपर्ने भनिएको थियो, त्यसअनुसार नआएको, सेजका नाममा सरकारले जग्गा भाडामा लगाउने काम गरेको, एकद्वार नीति कार्यान्वयन नभएकोजस्ता कारणले फर्कनुपरेको बताएका छन् ।

आर्थिक वर्ष २०१५/१६ देखि हालसम्ममा यहाँ १५ करोड रुपैयाँ बराबरको सरकारले बजेट खर्च गरेको देखिएको छ ।

यहाँ अहिले ६ ओटा कम्पनीले अहिलेसम्म करिब ५० करोड रुपैयाँ बराबरको लगानी गरेको देखिएको सेजनले जनाएको छ ।

सेजमा उद्योग स्थपना गरिरहेका उद्योहरूले उत्पादनको ६० प्रतिशत निर्यात गर्न समस्या पर्नसक्ने बताएका छन् ।