संसद सुचारु गर्न सभामुखले पहल गर्नुपर्छ– सांसद् पोखरेल « Image Khabar


संसद सुचारु गर्न सभामुखले पहल गर्नुपर्छ– सांसद् पोखरेल



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले संसदलाई सुचारु गर्न सभामुखले पहल गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पोखरेलले संसदलाई सुचारु रूपमा चलाउन सभामुख र जनप्रतिनिधिको पहलको आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले कोरोना, लिपुलेक र लिम्पियाधुराको समस्या, निर्वाचन र चाडबाडको बीचमा रहेकोले संसद सुचारु गर्न सबैको सहजता आवश्यक रहेको बताउनुभयो ।

पूर्व शिक्षा मन्त्रीसमेत रहनुभएका सांसद पोखरेलले भन्नुभयो, ‘कोरोना, निर्वाचन, चाडबाडको बेला छ, लिपुलेक, लिम्पियाधुरधाको समस्या त्यत्तिकै छ, एमालेले लगातार संसद अवरोध गरिरहेको छ, यसरी कसरी निकास मिल्छ ? जनताका समस्या जहाँको त्यहीँ छन् ।’

सांसद पोखरेलले संसद सरकार र प्रतिपक्षको पनि थलो भएकोले सबैले मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

यद्यपि बिहीबारको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।