
काठमाडौं । १६ दिनपछि बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेको छ ।
आफ्नो पार्टीले गरेको सांसदहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेको भन्दै एमालेले बिहीबार बोलाइएको बैठक पनि अवरुद्ध गरेको हो । अवरोधकै बीच सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभयाे ।
यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । साथै, सांसदहरू अनुपस्थितिको सूचना पनि स्वीकृत भएको छ ।
गत असोज २५ गते स्थगित भएको बैठक १६ दिनपछि बिहीबार बसेको हो । यसअघि मंगलबारका लागि बैठक तय भए एमालेको आग्रहमा बिहीबारका लागि सारिएको थियो । तर, आग्रह गरेर बैठक सार्न लगाए पनि उसले बैठकमा अवरोध गर्न भने छाडेन ।
गत भदौ २३ मा संसद बैठक सुरु भएयता एमालेले निरन्तर बैठकमा विरोध गरिरहेको छ । एमालेको अवरोधमा कारण संसदमा शून्य र विशेष समयमा सांसदहरूले बोल्न पाएका छैनन् भने कतिपय महत्वपूर्ण विधेयकहरू अलपत्र परेका छन् ।
प्रतिनिधिसभाको अर्को बैठक कात्तिक २९ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्