Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


कोभिडको तेस्रो लहरका लागि हरेक स्वास्थ्य संस्था पूर्व तयारीमा बस्नुपर्छ– मन्त्री थारु


0
Shares

भैरहवा । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले कोरोना महामारी तेस्रो लहर आउनसक्ने भन्दै सम्पूर्ण स्वास्थ्य संस्था पूर्व तयारीमा बस्नुपर्ने बताउनुभएको छ ।

२ करोड ६० लाखको लगानीमा भैरहवास्थित भीम अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्टको उद्घाटन गर्दै मन्त्री थारुले कोरोनाको तेस्रो लहरको पूर्व तयारीमा बस्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुयभो, ‘कोरोना महामारीको तेस्रो लहर आउन सक्ने सम्भावना भएकाले हरेक अस्पताल, स्वास्थ्य चौकी, प्रदेश सरकार पूर्व तयारीमा बस्नुपर्छ ।’

उहाँले अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट कोभिड–१९ महामारीजन्य बिरामीको लागि मात्र नभएर अन्य प्रयोजनका लागि पनि उपयोगी हुने बताउनुभयो ।

मन्त्री थारुले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा देशैभरीको उत्तम स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने प्रदेशको रूपमा विकास गर्न आफू लागिपरेको बताउनुभयो ।

‘विशेषज्ञ सेवाहरू प्रदेशमै दिन सक्नुपर्छ, प्रदेशका जनताको हरेक उपचार प्रदेशमै गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘सोही लक्ष्यका साथ प्रदेश सरकार लागेको छ ।’

५० शय्याको अस्पतालका लागि जनशक्तिको निकै अभाव भएकाले प्रदेश लोकसेवा आयोगमार्फत सरकारले कर्मचारी पूर्ति गर्ने पनि उहाँले आश्वासन दिनुभयो ।