Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


भारतीय पर्यटकलाई नेपाली कर्मचारी र सुरक्षाकर्मीले नै दिन्छन् सास्ती


0
Shares

-बिराज रोस्यारा/ईमेज 

कैलाली । नेपाल भ्रमण बर्ष सुरु भएसँगै सुदुरपश्चिममा भारतीय पर्यटकको संख्या बढ्न थालेको छ । नेपाल घुम्न आएका भारतीय पर्यटकले भने सीमा नाकामा भन्सारका कर्मचारी तथा सुरक्षाकर्मीले अनावश्यक दुःख दिने गरिएको गुनासो गर्न थालेका छन् ।

नेपाल भ्रमण बर्ष चलिरहेका बेला सुदूरपश्चिमका सीमा नाकामा पर्यटकप्रतिको व्यवहार परिवर्तन नभएको गुनासो बढ्न थालेको छ । सुदुरपश्चिमलाई मुख्य पर्यटकीय गन्तव्यको रुपमा हेरिएका बेला सीमानाकामा पर्यटकप्रति उचित व्यवहार नहुँदा भारतीय पर्यटकको संख्यामा उल्लेख्य सुधार आउन सकेको छैन ।

पर्यटकका लागि सीमा नाकामा सूचना केन्द्र नहुनु र भन्सारका कर्मचारी तथा सुरक्षाकर्मीले अनाहकमा दुख दिने गरेको भारतको लख्खिमपुका आरेन्द्र सिँहले बताउँछन् ।

सीमा नाकाहरुमा सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको बारेमा जानकारी नहुँदा समेत अन्यौलता हुने गरेको उनिहरुको भनाइ छ ।  पर्यटकीयस्थलको दुरी, महत्व र भौगलिक अवस्थाको बारेमा जानकारी नहुँदा पनि पर्यटकलाई समस्या भइरहेको हो ।

सरकारले भ्रमण बर्षलाई सफल पार्न सीमा नाकामा सहज र प्रचार प्रचारमा जोड दिनुपर्ने भारतको पलियाकला खिरीका राम गुप्ता बताउँछन् ।

यता नेपाल भ्रमण बर्ष २०२० का सुदूरपश्चिम सचिवालय प्रमुख भोेजराज पाठक भने आफूहरु सबै निकायसँग समन्वय गरेर काम गरिरहेको दाबी गर्छन् ।

सीमा नाकाबाट सहज रुपमा पर्यटक आउनका लागि सबै सुरक्षा निकाय र भन्सारसँग समन्वय भइरहेको बताउँदै पर्यटकको सुविधाका लागि सूचना केन्द्र स्थापनाको काम भइरहेको उनको भनाइ छ ।

भारतको दुधुवा राष्ट्रिय निकुञ्ज र मन्सुरी घुम्ने पर्यटकहरु अहिले सुदूरपश्चिमका विभिन्न पर्यटकीय स्थल घुम्न आउने गरेका छन् । तर भौगलिक स्थिति बारेमा सूचना नपाउँदा उनीहरु समस्यामा पर्ने गरेका छन्  ।

यसप्रति सरोकारवाला निकाय गम्भीरताका साथ अगाडि बढ्नुपर्ने देखिन्छ ।