काठमाडौं, कात्तिक ९ । महिन्द्राको इलेक्ट्रिक अटो नेपाली बजारमा भित्रिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अटोको बजार प्रवेश गराउँदै विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताउनुभयो । उहाँले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरु बढाउने रहेको बताउनुभयो । मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारी साधनहरुले सहयोग गर्ने पनि स्पष्ट पार्नुभयो ।
महिन्दाको लागि नेपालको आधिकारिक बिक्रेता अग्नि इन्करर्पोरेटेडले यो अटो भित्र्याएको हो । ध्वनी प्रदुषण नहुने, वातावरण सुहाँउदो र किफायती दाबी गरीएको यो ३ पाङग्रे सवारी नेपालको तराई भागलाई केन्द्रित गरी बजार प्रवेश गराइएको जनाइएको छ ।
पेट्रोल अटोसँग तुलना गर्दा वार्षिक २ लाखसम्म बचत हुने कम्पनीको दाबी छ । महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन मिश्रले अत्याधुनिक विशेषताका यी अटो वातावरणमैत्री हुनुका साथै किफायती हुनाले छिट्टै ग्राहकको रोजाइमा पर्ने बताउनुभयो ।
यसको स्थानीय बजार मुल्य ८ लाख ४० हजार तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्