Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


‘अमेरिका–इरान तनावले’ सुनको मूल्यमा तीव्र वृद्धि, नेपालमा अहिलेसम्मकै महँगो


0
Shares

काठमाडौं, पुस २३ । नेपालमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ ।

प्रतितोला ७६ हजार ५०० रुपैयाँ

बुधबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एकै दिन १००० ले वृद्धि

बुधबार एकै दिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको हो । मंगलबार छापावाल सुनको मूल्य तोलाको ७५ हजार ५०० रुपैयाँ थियो ।

एक सातामा ३००० ले बढ्यो

गएको बुधबार र बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ७३ हजार ५०० रुपैयाँ थियो । एक साताको समयमा सुनको मूल्य तोलामा तीन हजारले बढेको हो ।

चाँदीको पनि वृद्धि

बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलाको ९२० मा कारोबार भएको महासंघले जनाएको छ ।

अमेरिका–इरान तनावले तीव्र वृद्धि

अमेरिका र इरानबीचको तनावका कारण सुनको भाउमा तीव्र वृद्धि भइरहेको जनाइएको छ ।

‘पछिल्लो समय इरान र अमेरिकाबीचको द्वन्द्वका कारण सुनको भाउमा तीव्र वृद्धि भइरहेको छ । प्रमुख कारण यही हो’–नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले इमेजखबरसित टेलिफोनमा भने ।

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदा पनि सुनको मूल्यवृद्धिमा केही सहयोग पुगेको उनको भनाइ छ ।

कारोबार ह्वात्तै घट्यो

अहिले नेपालमा सुनको कारोबार ह्वात्तै घटेको बताइएको छ ।

शाक्यकाअनुसार नेपालमा सामान्य अवस्थामा दैनिक ३०–३५ किलो सुनको कारोबार भइरहेको थियो । विवाहको समयमा दैनिक ५०–५५ किलोसम्म कारोबार हुने गरेको थियो ।

तर, पछिल्ला चार/पाँच दिनयता देशभर सुनको कारोबार अत्यन्तै न्यून भएको शाक्यले बताए ।

‘अहिले त दैनिक १० किलोजति पनि कारोबार छैन’–उनले भने–‘जिल्लाहरुबाट आएका विवरण हेर्दा छिटफुटमात्रै कारोबार भएको पाइएको छ ।’

प्रतिऔंन्स १५९० डलर

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंन्स १५९० डलर हाराहारीमा कारोबार भइरहेको उनले जानकारी दिए ।

केही समयअघि अमेरिका र चीनबीचको व्यापारिक तनावले पनि सुनको मूल्य बढेको थियो ।

नेपालमा वि.सं. २०५१ सालदेखि आधिकारिकरुपमा सुनको मूल्य निर्धारण गर्न थालिएको हो ।