सागर महत (इमेज)
अर्घाखाँची, पुस २३ । पछिल्लो समय अर्घाखाँची व्यावसायिक सुन्तला खेतीको ‘पकेट’ क्षेत्रको रुपमा विकास हुँदै गएको छ ।
अनुकूल वातावरण रहेकाले सुन्तला खेतीमा लागेका कृषकहरुको जीवनस्तर नै माथि उठ्न थालेको हो ।
यसअघि खाद्यान्न बालीमा मात्रै जोड दिँदै आएका अर्घाखाँचीका कृषकहरु सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।
कम मिहिनेतमै अधिक उत्पादन गर्न सकिने भएपछि सुन्तला खेती किसानहरुको रोजाइमा पर्दै गएको हो ।
जिल्लामा कुल १२ सय हेक्टरमा खेती गरिएकामा यो वर्षमात्रै १६ करोड रुपैयाँको सुन्तला उत्पादन भएको छ ।
जिल्लाको सबैभन्दा धेरै सुन्तला उत्पादन हुने पाणिनी गाउँपालिकाको पणेना हो । पणेनासँगै पटौटी, खिदिम, अर्घातोष, भगवती मरेङ, हंसपुरका साकिन्धारा, ढिकुरा, खाँचीकोटलाई सुन्तला खेतीको पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ ।
६ मुरी मकै पनि उत्पादन नहुने बारीमा अहिले सुन्तला खेती गर्दा ६ लाख रुपैयाँभन्दा बढीको आम्दानी गर्न सफल भएको पाणिनी गाउँपालिका सिम्लेका नारायणप्रसाद पौडेलको भनाइ छ ।
अधिकांश परिवारले सुन्तलाबाटै प्राप्त आम्दानीले घरखर्च राम्रोसँग धानेका छन् ।
पकेट क्षेत्रबाहेकका पालिकामा पनि पछिल्लो समय व्यावसायिक सुन्तला खेती हुन थालेको छ ।
कृषकले सुन्तलाको मूल्य पनि राम्रो पाएकाले यसतर्फ किसानको आकर्षण बढ्दै गइरहेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख देवेशकुमार मिश्र बताउँछन् ।
उत्पादित सुन्तला ६० प्रतिशत जिल्लामै र ४० प्रतिशत जिल्लाबाहिर निर्यात हुने गरेको छ । उत्पादन भएको सुन्तला सबैभन्दा बढी बुटवलमा निर्यात् हुने गरेको छ ।
सुन्तला उत्पादनमा किसानलाई तालिमसँगै अनुदानका कार्यक्रम सन्चालन गर्नुपर्ने किसानहरुको माग छ ।




प्रतिक्रिया दिनुहोस्