Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


नेपाल टेलिकम र सडक विभागबीच समझदारी


0
Shares

काठमाडौं, पुस २२ । नेपाल टेलिकम र सडक विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अगाडि बढ्ने समझदारी भएको छ ।

यससम्बन्धी समझदारीपत्रमा हालै सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका हुन् ।

टेलिकम र सडक विभागबीच समन्वय र सहकार्य आवश्यक देखिएकाले समझदारी गरिएको जनाइएको छ ।

नियमित नयाँ सडक निर्माण, सडक विस्तार, मर्मत–सम्भार र सडक चौडा गर्ने तथा नेपाल टेलिकमका दूरसञ्चार पूर्वाधारहरु निर्माण तथा सुधारका क्रममा दुवै निकायबाट निर्मित पूर्वाधारका संरचनाहरुमा हानि–नोक्सानी हुनुका साथै निर्माण कार्यमा दोहोरो लगानी हुने र सेवाको गुणस्तरमासमेत प्रतिकूल प्रभाव पर्ने गरेको छ ।

समझदारीअनुसार सडक विभागबाट सडक निर्माण तथा स्तरोन्नति गर्नेक्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्टहरु बिछ्याइने छ ।

यस्ता डक्ट बिछ्याउनका लागि आवश्यक पर्ने रकम सम्बन्धित आयोजनाको विस्तृत योजना र अनुमानित लागतअनुसार गरिने शिल कोटेशन वा बोलपत्रबमोजिम निर्क्योल भएको दररेटअनुसार टेलिकमले सडक विभागलाई भुक्तानी गर्ने भएको छ ।