Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


सातओटै प्रदेशमा श्रमिक बैंक स्थापना गर्ने सरकारी तयारी


0
Shares

काठमाडौं, पुस २२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी तीन महिनाभित्रै श्रमिक बैंक स्थापना गर्ने जनाएको छ ।

मन्त्रालयले एक महिनाको उपलब्धि र तीन महिनाको कार्ययोजनाबारे  जानकारी दिन गरेको पत्रकार सम्मेलनमा श्रममन्त्री रामेश्वर राय यादवले आगामी तीन महिनामा देशभरिका सम्पूर्ण श्रमिकलाई एकैठाउँमा समावेश गर्नेगरी श्रमिक बैंक सञ्चालनमा ल्याउन लागेको बताएका हुन् ।

श्रम बैंकमा सबै श्रमिक आबद्ध हुनसक्ने र यसमार्फत् आफूले चाहेको सीप सिक्नसक्ने जनाइएको छ ।

साथै, सातओटै प्रदेशमा रहेको प्रदेश कार्यालयमार्फत् उनीहरु सम्बन्धित ठाउँमा गइ काम गर्नसक्ने मन्त्री यादवको भनाइ छ ।

यस्तै, मन्त्रालयले आगामी तीन महिनाभित्रै सामाजिक सुरक्षा कोषमा १५ हजार रोजगारदाता र एक लाख योगदानकर्तालाई समावेश गर्ने पनि जनाएको छ ।

मन्त्रालयले चालू आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई १०० दिनको रोजगारी प्रदान गर्ने कार्ययोजना पनि अघि सारेको छ ।

यस्तै, आगामी दिनमा कृषि मजदुरलाई पनि अन्य श्रमिकले सरह सुविधा पाउनसक्ने गरी श्रमिकको दायरामा ल्याउने मन्त्री यादवले बताए ।

यस्तै, मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत् खटिने श्रमिकहरुको दुर्घटना बिमा गर्ने तयारी पनि गरेको छ ।

यस्तै, स्थानीय तहबाट सञ्चालन गरिने आयोजनाहरुको अनुगमन गर्नेे, विदेशस्थित कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था गर्ने, बिमा र कल्याणकारी कोषको रकम अनलाइनबाटै तिर्ने व्यवस्था मिलाउनेलगायतका योजना अघि सारेको सचिव विनोद केसीले जानकारी दिए ।

मन्त्रालयले यस अवधिमा एक लाख ३५ हजार बढी योगदानकर्ता र ११ हजार ९७८ जना रोजगारदाता संस्थाहरु सामाजिक सुरक्षा योजनामा सहभागी भइसकेको जनाएको छ ।

साथै, यसै अवधिमा ३८ करोड ५२ लाख योगदान रकम संकलन भइसकेको पनि जनाइएको छ ।