१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


हिमालयन शेर्पा–फ्रेन्ड्स बराबरी


0
Shares

काठमाडौं, पुस २२ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् ।

भएन कुनै गोल

मंगलबार दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

चिसो मौसममा हिमालयन शेर्पाले गोल गर्ने प्रयास धेरै गरेको भएपनि भाग्यलेसमेत साथ दिएन ।

८४औं मिनेटमा शेर्पाका खेलाडीले प्रहार गरेको बल गोलपोस्टको बारमा लागेर फर्केको थियो ।

१२औं र १३औं स्थान

यो बराबरीपछि पाँच खेलबाट शेर्पा ३ अंकसहित तालिकाको १२औं स्थानमा यथावत् छ । शेर्पाले तीन खेलमा बराबरी खेलेको हो ।

त्यस्तै, दुई खेलमा बराबरी गरी २ अंकसहित फ्रेन्ड्स १३औं स्थानमा यथावत् छ ।

१४ टोली सहभागी लिगमा सरस्वती युथ क्लबमात्र अंकविहीन छ ।

अंकतालिका

लिगको अंकतालिकामा ५ खेलबाट ११ अंकसहित मनाङ–मर्स्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको मच्छिन्द्र क्लबको १० अंक रहेको छ । दुवै टोली अपराजित छन् ।

तेस्रो र चौथो स्थानको त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबको समान ९ अंक रहेको छ ।

बुधबारका खेल

बुधबार दुई खेल हुँदैछन् । दशरथ रंगशालामा मध्याह्न १२ बजे थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सित तथा च्यासल युथ क्लबले नेपाल पुलिस क्लबसित दिउँसो ३ बजे खेल्नेछ ।

पुलिस र थ्रीस्टार समान ७ अंकसहित पाँचौं र छैटौं स्थानमा छन् । बीबीसी ६ अंकसहित सातौं तथा च्यासल ४ अंकसहित नवौं स्थानमा छ ।