११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


निम्तोबिना नै पाकिस्तानी प्रधानमन्त्रीको सपथमा जान किन उचालिए भारतीय !


0
Shares

नयाँ दिल्ली, साउन १८ । पाकिस्तानमा तहरिक ए इन्साफ पार्टीका नेता इमरान खानले ११ अगस्टका दिन प्रधानमन्त्रीका रुपमा सपथ गर्ने जनाइएको छ ।

सपथको मिति घोषणा भएदेखि नै भारतमा इमरान खानको सपथ समारोहमा पाकिस्तान को को जान सक्छन् भन्ने चर्चा सुरु भएको छ । पूर्वक्रिकेटर इमरानका समकक्षीहरु भारतमा प्रशस्त छन् । भारतीय संचारमाध्यममा इमरानको सपथ समारोहमा सहभागी हुन सक्ने भारतीयहरुको सम्भावित सूची नै सार्वजनिक हुन थालेको छ ।

भारतका पूर्वक्रिकेटर नवजोत सिंह सिद्धूले आफू इमरानको सपथ समारोहमा सहभागी हुने घोषणा गरिसकेका छन् । उनले आफूलाई निमन्त्रणा आएको दावी गर्दै पाकिस्तान जाने बताएका हुन् ।

तर पाकिस्तानले भने सपथग्रहण समारोहमा सहभागी हुन अहिलेसम्म कसैलाई पनि निमन्त्रणा नगरिएको प्रष्ट पारेको छ ।

इमरान खानको दल ‘तहरिक ए इन्साफ’ले इमरान खानको सपथ समारोहमा सहभागी हुन कुनै विदेशी कलाकार वा खेलाडीलाई आमन्त्रण नगरिएको जनाएको हो । भारतीय मिडियाले लगातारजसो इमरानको सपथ समारोहमा सहभागी हुन सक्ने भारतीय कलाकार तथा खेलाडीको बारेमा समाचार प्रशारण गर्न थालेपछि सो पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो प्रष्टिकरण दिएको हो ।

भारतीय संचारमाध्यमले इमरान खानको सपथ समारोहमा पूर्वक्रिकेटर सुनील गवास्कर, कपिल देव, सिद्धू र अभिनेता अमिर खानलाई आमन्त्रण गरिएको भन्दै समाचार प्रकाशन गरेपछि पाकिस्तानका तर्फबाट त्यसको खण्डन गरिएको हो । (एजेन्सी)