Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘मदन भण्डारीको हत्याको प्रमाण लुकाउन केपी ओली र विद्या भण्डारी संलग्न छन्’


182
Shares

झापा । नेकपा (एकीकृत समाजवादी) पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर आरोप लगाउनुभएको छ ।

झापाको बिर्तामोडमा समाजवादी प्रेस संगठनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्यापछि केपी ओलीको नेतृत्वमा बनेको एक सदस्यीय कार्यदलले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको स्मरण गराउनुभयाे ।

आफूलाई मदन भण्डारीको सक्कली उत्तराधिकारी हुँ भन्दै प्रस्तुत हुने केपी ओलीले आफू दुई तिहाइ नजिकको शक्तिशाली प्रधानमन्त्री र भण्डारीकै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा समेत हत्याराको खोजी गर्न नसकेको बताउनुभयो ।

‘उहाँहरू(केपी र विद्या)ले हत्या गर्नुभयो पनि भन्दिन, हत्याको योजना बनाउनुभयो पनि भन्दिन’ उहाँले भन्नुभयो, ‘तर, हत्याराको प्रमाण लुकाउन उहाँहरू संलग्न हुनुहुन्छ भन्ने मलाई लाग्छ ।’

पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवत्ता समेत रहनुभएका नेता खतिवडाले नेकपा (एमाले)ले अहिले मदन भण्डारीको नाम मात्रै बेचिरहे पनि वास्तविक सम्मान दिन नसकेको आरोप लगाउनुभयो । ‘मदन भण्डारीको लोकप्रियतालाई टेकेर मदन भण्डारी हुनुसक्छु कि भन्दै केपी ओलीले प्रधानमन्त्री छँदा कोशिस गर्नुभयो,’ उहाँले थप्नुभयो, ‘अहिले पनि त्यही कोसिसमा हुनुहुन्छ ।’

नेता खतिवडाले एमालेले कम्युनिष्ट चरित्र गुमाउँदै राष्ट्र र राष्ट्रियतालाई सत्तासँग सौदाबाजी गरेको आरोप लगाउनुभयो । उहाँले एमालेमै बस्दा सच्चा कम्यूनिष्ट हुन नसक्ने ठहर गर्दै आफ्नो एकीकृत समाजवादीको यात्रा तय भएको बताउनुभयो ।