देशभरका कृषक बाढीपहिरोको चपेटमा रहँदा गठबन्धनका मूलनेता दाहाल जीपलाइन सयरमा « Image Khabar


देशभरका कृषक बाढीपहिरोको चपेटमा रहँदा गठबन्धनका मूलनेता दाहाल जीपलाइन सयरमा


५ कार्तिक २०७८, शुक्रबार १४:५८


काभ्रे, कात्तिक ५ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले धुलिखेल पुगेर जीप लाइन खेलको अनुभव लिनुभएको छ ।

पारिवारिक भ्रमणका क्रममा नाति नातिनीसहित धुलिखेल पुग्नुभएका उहाँ आफैंले क्लासिक जीप लाइनको अनुभव लिनुभएको हो । साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै दाहालले आफूले जीपलाइनको मज्जा लिएको बताउनुभयो ।

पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको उहाँको भनाइ छ । बेमौसमी वर्षाबाट सृजित बाढी–पहिरोका कारण देशभरका कृषक मारमा रहेका बेला गठबन्धन दलका मूलनेता दाहाल भने जीप सयरमा लाग्नुभएको हो ।

टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्याण्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दूरी ११ सय मिटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमिटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ ।

काठमाडौंबाट करिव ३५ किलोमीटर दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रुपमा थालिएको हो ।