मेरापिक चढेर फर्किने क्रममा दुई विदेशी १० नागरिक फसे « Image Khabar


मेरापिक चढेर फर्किने क्रममा दुई विदेशी १० नागरिक फसे



सोलुखुम्बु, कात्तिक ३ । सोलुखुम्बुको मेरापिक चढेर फर्किने क्रममा मौसम प्रतिकुल बनेपछि विदेशी पर्यटक सहित १० जना फसेका छन् ।

मंगलबार मेरापिक आरोहण गरि फर्किने क्रममा मौसमका कारण मेराला ओडारमा चार, हाई क्याम्पमा चार र आधारशिविरमा २ जना आरोही फसेका हुन् ।

त्यसमध्ये मेरालामा फसेका चार मध्ये एक ब्रिटिस नागरिक स्टु सियन सहित सोलुखुम्बुका आरोही पासाङछिरिङ शेर्पा, छेतेन शेर्पा र पासाङ शेर्पा रहेका छन् । त्यस्तै, हाईक्याम्पमा एक विदेशी, नेपाली गाईड पूर्ण थापा मगर सहित नाम नखुलेका दुई र आधार शिविरमा नाम नखुलेका थप दुई अलपत्र परेका छन् । निरन्तरको झरी र हिमपातका उनीहरु फसेका हुन् ।

पदयात्री सकुशल रहेपनि तत्काल उद्धारको आवश्यकता रहेको एडभेञ्चर भिक्टोरीका सञ्चालक लक्षणमिसन कार्कीले बताउनुभयो । मौसम प्रतिकुलकाबिच पनि उहाँहरुको उद्धारका लागि खारे क्षेत्रबाट आरोही गाईडको टिम दुई पटक पठाएपनि हिउँ छिचोल्न नसकेर फर्किएका हुन् । सञ्चालक कार्कीका अनुसार हाईक्याम्प र बेसक्याम्पमा रहेकासँग सञ्चित खानेकुरा रहेको तर मेराला ओडारमा फसेकाहरुसँग कुनैपनि खानेकुरा छैन ।

उनिहरु मंगलबार दिउँसो ३ बजेदेखि सो क्षेत्रमा फसेका हुन् । मौसम अनुकुल बन्नासाथ उद्धार गरिने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताउनुभयो । उनीहरु एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चर मार्फत मेरापिक गएका थिए ।