काठमाडौं । ठूला आयोजनाको समन्वय गर्दै वैदैशिक लगानी खोजी गरिरहेको लगानी बोर्डले एकै पटक करिब ४ हजार तीनसय मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना अगाडि बढाउने अन्तिम तयारी गरेको छ ।
बोर्डले संयोजन गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको कार्यप्रगति उत्साहजनकरूपमा अगाडि बढिरहेको बेला ‘गेम चेन्जर’ ठानिएका ती आयोजनाका लागि पूर्वयोग्यता मूल्याङ्कन गरी लगानीकर्ताको संक्षिप्त सूची तयार पारिएको हो ।
निर्माण सम्पन्न भएका र निर्माणाधीन अवस्थामा रहेका अधिकांश आयोजना नदी प्रवाही प्रकृतिका रहेकाले ऊर्जा सुरक्षा एवं आर्थिक समृद्धिको आधारका रूपमा रहेका जलाशयुक्त आयोजनाको काम शुरु गर्न लागिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
अरुण तेस्रोको काम प्रभावकारी देखिए पनि माथिल्लो कर्णालीको काम अगाडि बढ्न नसकेको भन्दै आलोचना भइरहेको छ ।
यद्यपी, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको भारतीय प्रवद्र्धक ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर)ले बङ्गलादेश सरकारलाई ५०० मेगावाट विद्युत् बिक्रीको सम्झौता भइसकेको बोर्डलाई जानकारी गराएको छ ।
यस आधारमा सो आयोजनाको वित्तीय व्यवस्थापन भई काम शुरु हुने विश्वास बोर्डले लिएको छ । बोर्डका अनुसार निकट भविष्यमा नै अगाडि बढाउन लागिएका आयोजनामा तल्लो अरुण ६७९ मेगावाट रहेको छ ।
सो आयोजनासमेत अरुण तेस्रोको प्रवद्र्धक भारतीय कम्पनी सतलज विद्युत् निगमले नै निर्माण गर्ने इच्छा व्यक्त गर्दै आएको छ ।
अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहबाट निस्केको पानीलाई नै सदुपयोग गर्न सकिने र निर्माणमा रहेका उपकरण तथा जनशक्तिसमेत सहजै प्रयोग गर्न सकिने भएकाले भारतीय कम्पनी सतलजले आफूहरुलाई आयोजना दिइए तोकिएको समयभन्दा छिट्टै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
यस्तै प्रदेश नं १ को मोती भनेर चिनिने तमोर जलाशयुक्त आयोजनासमेत निर्माणमा लैजाने तयारीमा बोर्ड रहेको छ । कूल ७५६ मेगावाट क्षमताको सो आयोजना चिनियाँ कम्पनी पावर चाइनाले जिम्मा लिएको छ ।
यस्तै पश्चिम सेती र एसआर सिक्स नाम दिइएको दुई आयोजना मिलाएर एक हजार २०० मेगावाट क्षमताका आयोजना अगाडि बढाउने विषयमा समेत लगानीकर्ताको सूची तय भएको छ ।




प्रतिक्रिया दिनुहोस्