काठमाडौं, पुस १९ । भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्बलिङ प्लान्ट परियोजनाका लागि कोरियन कम्पनी मोट्रेक्ससँग परियोजना लगानीका लागि लगानी बोर्डले प्रारम्भिक सम्झौता गरिसकेको छ ।
लगानी सम्मेलनपश्चात् गाडी उत्पादन तथा एसेम्बलिङका लागि कोरियन मोटर कम्पनी मोट्रेक्सले प्रस्ताव पेस गरेको थियो ।
त्यसलगत्तै कम्पनीले सात वर्षसम्म नेपालमा अन्य एसेम्बल कम्पनी स्थापना गर्न नहुने सर्त राखेको थियो ।
सो सर्तअनुसार काम गर्दा नेपालमा अन्य प्रतिस्पर्धी कम्पनी आउन नसक्ने भएकाले लगानी बोर्डले सो सर्त अस्वीकार गरेको थियो । तर, पछि मोट्रेक्स नेपालमा लगानी गर्न तयार भयो ।
१० अर्ब ५४ करोडको लगानीमा बन्ने परियोजनाका लागि लगानी बोर्डले प्रोजेक्ट इन्भेस्टमेन्ट एग्रिमेन्ट (पीआइए) पनि गरिसकेको जनाएको छ ।
मोट्रेक्स कोरियाको गाडी उत्पादक कम्पनी हो । यस कम्पनीले सुरुआतमा सम्झौता गर्दा नै केही सहुलियत दिनुपर्ने माग राखेको थियो ।
उसको मागअनुसार सहुलियत दिँदा ३० देखि ४० प्रतिशतसम्म सस्तोमा गाडी बिक्री गर्ने बताएको थियो । तर, लगानी बोर्डले भने उसले मागेजति सहुलियत दिन नसक्ने जनाएको छ ।
नेपालमै एसेम्बल हुने भएपछि गाडीको मूल्य १० देखि २० प्रतिशतसम्म सस्तो पर्ने बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले जानकारी दिए ।
कम्पनीले नेपालमा किया र हुन्डाईको गाडी उत्पादन गर्ने जनाएको छ । यद्यपि, कुन कम्पनीको गाडी उत्पादन गर्ने भन्ने यकिन भने भइनसकेको लगानी बोर्डले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्