Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


१४ ओटा परियोजनाको संक्षिप्त सूची तयार


0
Shares

काठमाडौं, पुस १९ । लगानी बोर्डले विभिन्न परियोजनाको पूर्वयोग्यता मूल्याकंन सम्पन्न गरी योग्य लगानीकर्ताहरुको सूची तयार गरेको छ ।

लगानी सम्मेलनमा प्रस्तुत भएका विभिन्न १४ ओटा परियोजनामा ११ खर्ब ८८ अर्ब नेपाली रुपैयाँ लगानी स्वीकृत गरी योग्य लगानीकर्ता छनोट गरेको हो ।

लगानी बोर्डले शुक्रबार पत्रकार सम्मेलन गरी लगानी सम्मेलनमा प्रस्तुत गरिएका ५० परियोजनामध्ये १४ ओटा परियोजनाको लगानी स्वीकृत भइसकेको जानकारी दिएको हो ।

लगानी सम्मेलनपश्चात् हालसम्म तमोर र भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्बलिङ प्लान्ट परियोजना, नेपाल–चाइना फ्रेन्डसिप पार्कजस्ता ठूला परियोजनामासमेत लगानी स्वीकृत भइसकेको बोर्डले जनाएको छ ।

यी परियोजनामध्ये ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनीसमेत छनोट भइसकेको जनाइएको छ ।

विभिन्न परियोजनामध्ये भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्बलिङ प्लान्ट परियोजनाका लागि १० अर्ब ५४ करोड लगानी सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ ।

यस्तै, झापाको दमकमा ६४ अर्ब १३ करोड रुपैयाँ लागत रहेको नेपाल–चाइना फ्रेन्डसिप पार्कका लागि पनि समझदारी भएको जनाइएको छ ।

वीरगन्ज, विराटनगर र भैरहवामा निर्माण हुने १३ अर्ब रुपैयाँको मल्टीमोडल लजिस्टक पार्कको निर्माणका लागि दुई कम्पनीसँग समझदारी भएको पनि बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

लगानी सम्मेलनकैक्रममा रहेका अन्य १६ परियोजनाका लागि समझदारीसमेत कार्यान्वयन भइसकेको अधिकारीले बताए ।

बोर्डले हालसम्म करिब पाँच खर्ब ६५ अर्ब बराबरका विभिन्न ९ ओटा परियोजना कार्यान्वयन तथा सहजीकरण गरिरहेको जनाएको छ ।