
काठमाडौं, पुस १९ । चालू आर्थिक वर्षमा धान उत्पादनमा कमी आएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चालू आर्थिक वर्षमा १.०५ प्रतिशतले धान उत्पादनमा कमी आएको जनाएको हो ।
गत आर्थिक वर्षमा नेपालको धान उत्पादन ५६ लाख १० हजार मेट्रिकटन भएकामा यस वर्ष भने सो उत्पादनमा १.०५ प्रतिशतले गिरावट आइ ५५ लाख ५१ हजार मेट्रिकटनमा सीमित भएको छ ।
चालू आर्थिक वर्षमा १.०५ अर्थात् ५९ हजार मेट्रिकटन धान उत्पादन घटेको हो ।
नेपालको प्रमुख खाद्यन्न बाली धान भएपनि गत वर्ष करिब २८ अर्बको चामल आयात गरिएको थियो ।
आर्थिक वर्ष २०६०/६१ देखि २०७४/७५ सम्मको तथ्यांकलाई केलाउँदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मौसम मुख्य कारक देखिन्छ ।
मन्त्रालयको तथ्यांकअनुसार मौसमअनुकूल भएको वर्ष धानको उत्पादन बढेको देखिन्छ भने प्रतिकूल हुँदा उत्पादन घटेको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकले धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको देखाएको छ ।
२०६८ सालको जनगणनालाई आधार मान्दा नेपालीका लागि झन्डै ६० लाख मेट्रिकटन धानको आवश्यकता पर्छ ।
कृषि गणना २०६८ ले नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत रहेको देखाएको छ । जसमा धानको योगदान १२ प्रतिशत छ । तर, धानको उत्पादन भने घटेको छ ।
धानको उत्पादन घट्नुमा समयमा वर्षा नहुनु, खेतीयोग्य जमिनको अभाव, तराई क्षेत्र डुबानमा पर्नु, पर्याप्त मात्रामा सिँचाइको सुविधा नपुग्नु प्रमुख कारणहरु रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्