५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


जापान रोजगारीः २३०० का लागि परीक्षा हुँदै, परीक्षार्थी हुन के–के चाहिन्छ ?


0
Shares

काठमाडौं, पुस १९ । जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झन्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ ।

जापान फाउन्डेसनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ ।

फाउन्डेसनले एक सूचना जारी गरी परीक्षातालिका सार्वजनिक गरेको हो ।

जनवरी ७, ८, १४–१६, २१–२३, २८ र २९ तारिखमा भाषा परीक्षा हुनेछ ।

यस्तै, आगामी मार्च ३–५, ९–११, १२ र १५–१९ तारिखसम्म परीक्षा सन्चालन हुनेछ ।

परीक्षा शुल्क रु दुई हजार ५०० तोकिएको छ ।

कम्प्युटरमा आधारित परीक्षा प्रणालीका आधारमा लिखित, सीप परीक्षणलगायत परीक्षा हुनेछ ।

परीक्षार्थीले साधारण बोलिचाली तथा प्रस्तुति, जापानी भाषा सुनाइ र पढाइमा उत्तीर्ण हुनुपर्नेछ । २५० अंकको परीक्षामा सहभागीले न्यूनतम् २०० अंक ल्याउनुपर्नेछ । 

परीक्षामा सहभागी हुन चाहने युवाले नेपाली नागरिकता, राहदानी वा सवारीचालक परिचयपत्र पेस गर्नुपर्नेछ ।

दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्नसक्ने तथा आफ्नो र आफ्नो वरिपरिको परिस्थितिकोबारेमा जापानी भाषामा सहजै बोल्न सक्नुपर्नेछ ।

फाउन्डेसनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर इन्स्टिच्यूटमा परीक्षा सन्चालन गर्नेछ ।

गत चैतमा नेपाल र जापानबीच कामदार लैजानेसम्बन्धी समझदारी भएको थियो । पहिलो चरणमा जापान रोजगारीका लागि १३ हजार युवाले सहभागिता जनाएका थिए ।

नेपालबाट नर्सिङ केयरगिभरमा कामदार लैजाने जापानको तयारी छ ।

जापानले गत वर्ष विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने घोषणा गरेको थियो । रासस