Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


चीनको सहयोगमा भब्य बन्यो विद्यालय भवन, विद्यार्थीहरु उत्साहित


0
Shares

-विजय नेपाल/ईमेज

सिन्धुपाल्चोक । चीनले सिन्धुपाल्चोकको विकट क्षेत्र जुगल गाउँपालिकाको बराम्चीमा करिब एक अर्ब रुपैयाँको लागतमा रत्नराज्य माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गरेको छ । नयाँ भवनमा सरेपछि पढाईको स्तर समेत सुध्रने भन्दै विद्यार्थीहरु खुशी भएका छन् ।

जुगल गाउँपालिका–५ बराम्चीमा अवस्थित रत्नराज्य माध्यमिक विद्यालय २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएपछि विद्यार्थीहरुले ठूलो समस्या भोग्नुपर्‍यो ।

बर्खामा पानी पर्न थालेपछि जस्ता बजेर केही नसुनिने हुँदा उनीहरु दिउँसै विद्यालय बन्द गर्नुपर्ने अवस्थामा थिए । हिउँदको समयमा अत्याधिक चिसो हुने हुँदा पनि उनीहरु राम्रोसँग पढ्न पाएका थिएनन् ।

सोही अवस्थालाई मध्यनजर गरी तिब्बत सरकारको सहयोगमा चिनियाँ दूतावासमार्फत् विद्यालयका लागि भव्यसंरचना निर्माण भइसकेको छ ।

अब विद्यालयको नयाँ भवनमा सरेपछि पढाईको स्तर समेत सुध्रने भन्दै विद्यार्थीहरु उत्साहित बनेका छन् ।

तिब्बत जिनलोङ कन्सट्रक्सन इन्जिनियरीङ कम्पनीले निर्माण गरेको नवनिर्मित विद्यालयमा साना ठुला गरी ६ वटा भवन रहेका छन् ।

एक किचेन, एक डाइनिङ र एक सुरक्षागार्ड गरी तीन साना भवन छन् १८ शिक्षकको लागि बेग्लाबेग्लै र करिब ६ सय जना विद्यार्थी अट्ने होस्टल एउटा भवनमा संचालन हुनेछ भने अर्को एक भवनमा कक्षाकोठा मात्रै सञ्चालन हुनेछ ।

एक भवनमा भने कार्यालय, शिक्षक कोठा, बैठक कोठा, पुस्तकालय, कम्प्युटर र विज्ञान प्रयोगशालाका लागि फरक फरक कोठा निर्माण गरिएको निर्माण कम्पनीका दोभोषे कौशल कार्कीको भनाइ छ ।

नवनिर्मित भवनले टाढा–टाढाबाट आउने विद्यार्थीलाई सहज हुने र त्यसले शैक्षिक गुणस्तर सुधारमा पनि सहयोग पुग्ने विद्यालयका शिक्षकहरुले बताए ।

अप्रिल २०१७ बाट निर्माण कार्य थालेको कम्पनीले केही दिनअघि निर्माणको सम्पूर्ण काम सम्पन्न गरिसकेको  छ ।

भवन निर्माणमा गिटी, बालुवा र ढुङ्गाबाहेकका अन्य सामाग्री र कामदार समेत चीनबाट नै ल्याइएको छ ।

चिनीयाँ मोडलमा निर्माण भएको सो विद्यालय लमजुङको भैरब माध्यमिक विद्यालयपछिको दोस्रो भवन हो ।