Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


भैरहवा नाकाबाट दुई खर्ब २० अर्ब व्यापार घाटा


0
Shares

दीपक घिमिरे (इमेज)

भैरहवा, साउन १७ । निर्यातको तुलनामा आयात अत्यधिक बढेपछि पश्चिम नेपालको मुख्य व्यापारिक नाका भैरहवाको बेलहिया नाका हुँदै भारत तथा तेस्रो मुलुकसँग हुने व्यापार घाटा बढ्दै गएको छ ।

बेलहिया नाकाबाट आर्थिक वर्ष २०७४/०७५ मामात्रै करिब ९९ प्रतिशत व्यापार घाटा भएको छ ।

मुलुक आयातमुखी हुँदा बेलहिया नाकाबाट भारत तथा तेस्रो मुलुकसँग हुने व्यापार घाटा प्रत्येक वर्ष आकासिँदै गएको हो ।

यो नाकाबाट आयातको तुलनामा निर्यात शून्यजस्तै हुँदा व्यापार घाटा बढेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मामात्रै दुई खर्ब २० अर्ब ५३ करोड रुपैयाँ व्यापार घाटा भएको छ । जुन निर्यातको तुलनामा ९८.४३ प्रतिशतले बढी हो ।

भन्सारको तथ्यांकअनुसार यहाँबाट दुई खर्ब २४ अर्ब तीन करोडको सामान आयात हुँदा निर्यात भने तीन अर्ब ५० करोडकोमात्रै भएको भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा यो नाकाबाट एक खर्ब ९८ अर्ब ८० करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

बिलासिताका सामानहरू मोटरसाइकल तथा कारको आयात बढ्दै जानु, दक्ष जनशक्ति विदेश पलायन हुनु, रेमिट्यान्स परिचालन गर्न नसक्नु, खेतीयोग्य जमिन बाँझो हुनु, वस्तुगत विविधतामा सन्तुलन नहुनु, निकासीजन्य वस्तुहरु न्यून उत्पादन तथा निकासी सहजता नहुुनुजस्ता कारणले वर्षेनि व्यापार घाटा बढ्दै गएको जनाइएको छ ।

गत आबमा बेलहिया नाकाबाट मोटरसाइकल, कार, औद्योगिक कच्चापदार्थ, सिमेन्ट, क्लिन्कर, एमएस ब्लेड, डिजेल पेट्रोल, टायल, ट्रक मिनिट्रक, खाद्यान्नलगायत ४०० बढी प्रकारका सामानहरु आयात भएका थिए ।

तर, नेपालबाट भारततर्फ भने बोरा, रद्धी कागज, जडीबुटी, काँच, डन्डी र ट्युब, चोकर, खोटो/रेजिन, अदुवा सुठो तथा रेसाको कपडामात्रै निकासी भएको थियो ।

आयात–निर्यातको खाडल वर्षेनि बढ्दै जाँदा भविष्यमा मुलुकको पूरै अर्थतन्त्र नै आयातमुखी हुने सम्भावना बढ्दै गएको छ ।