काठमाडौं । क्यानले नेपाल टी–२० लिग सञ्चालनका लागि भारतीय कम्पनीसँग गरेको विवादास्पद सम्झौता रद्द गर्ने भएको छ । क्यान केन्द्रीय कार्यसमिति बैठकले सेभेन थ्री स्पोर्ट्ससँग भएको सम्झौता रद्द प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
क्यानले गत वर्ष १० वर्षका लागि नेपाल टी–२० लिग गर्न सेभेन थ्री स्पोर्ट्ससँग करिव ४२ करोडको प्रारम्भिक सम्झौता गरेको थियो । अनुमोदनको प्रस्तावमा विवाद आएपछि क्यानले सम्झौता रद्द गर्ने भएको हो ।
क्यान बैठकले कार्यवाहक सचिवको जिम्मेवारी प्रशान्तविक्रम मल्ललाई दिने निर्णय गरेको छ । रिक्त सचिव पदमा केन्द्रीय सदस्य मल्ललाई जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।
क्यानका उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले असोज १३ गते पदबाट राजीनामा दिएका थिए । क्यानले आगामी वार्षिक साधारणसभा डिसेम्बरको १५ तारेखमा गर्ने निर्णय पनि गरेको छ ।
संघको बैठकले कर्णालीको कालीकोट, सल्यान, दैलेख र रुकुम पश्चिम जिल्ला क्रिकेट संघलाई मान्यता दिएको छ ।





प्रतिक्रिया दिनुहोस्