काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को आजदेखि शुभारम्भ हुँदैछ ।
सरकारले यसवर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज(बुधबार)देखि भ्रमण वर्षको सुरुवात गर्न लागेको हो ।
काठमाडौंको दशरथ रङ्गशालामा भव्य समारोह गरेर भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भ्रमण वर्षको भव्य उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।
भ्रमण वर्षको उद्घाटनस्थल रङ्गशालामा मंगलबार पूर्वाभ्याससमेत गरिएको थियो । उद्घाटनको समारोहलाई विशेष बनाउन सबैखालको तयारी गरिएको सचिवालयले जनाएको छ ।
अपराह्न ४ बजेदेखि सुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ । सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ ।
नेपालको संस्कृति झल्कने नाचगानबाट सुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ । राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ ।
आजै भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । कार्यक्रममा विभिन्न देशबाट आएका अतिथीहरु समेत सहभागी हुने बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्