हामी प्रदेशका सिंहदरबार हौं, मलाई नसोधी अख्तियार पस्ने ?–मुख्यमन्त्री राउत « Image Khabar


हामी प्रदेशका सिंहदरबार हौं, मलाई नसोधी अख्तियार पस्ने ?–मुख्यमन्त्री राउत

प्रदेश सरकारलाई बदनाम गराउने खेल थालिएको आरोप

२० आश्विन २०७८, बुधबार १४:२९


जनकपुर, असोज २० । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति आक्रोश व्यक्त गर्दै आफूहरुलाई बदनाम गराउने खेल थालिएको आरोप लगाउनुभएको छ ।

बुधबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियानमा अनुसन्धान थालेर अख्तियारले प्रदेश सरकारलाई बदनाम गर्न खोजेको आरोप लगाउनुभएको हो ।

छापा मारिएपछि अफ्ठ्यारोमा पर्नुभएका मुख्यमन्त्री राउतले मुख्यमन्त्री कार्यालयलाई ‘प्रदेशको सिंहदरबार’ संज्ञा दिँदै अख्तियारले आफूलाई नसोधी कारवाही गर्नै नसक्ने दावी गर्नुभयो, ‘मुख्यमन्त्री कार्यालय भनेको संस्था हो । प्रदेशको सिंहदरबार हो । प्रधानमन्त्री कार्यालय हो । सीमित बजेट र कर्मचारी भए पनि प्रदेशको आफ्नो गरिमा हुन्छ ।’

षड्यन्त्रपूर्वक आक्रमण गरिएको भन्दै राउतले भन्नुभयो, ‘मलाई जानकारी गराएको भए म जे माग्नुहुन्छ त्यो दिन तयार थिएँ । प्रमुख सचिवलाई पनि जानकारी गराइएको छैन । प्रदेश सरकारलाई बदनाम गराउन षडयन्त्रपूर्वक हामीमाथि अट्याक गरिएको छ ।’

साइकल वितरण नीति, नियम र बजेटमा भएअनुसार सञ्चालन गरिएको भन्दै उहाँको थप प्रष्टीकरण थियो, ‘ईबिडिङअनुसार भएको छ । नियमानुसार भएको छ । त्यसको बजेट व्यवस्थापन तपाईंहरूले नै गर्नुभएको छ । तपाईंहरूको जिज्ञासा हामीले समेटेकै छौँ । साइकलको वेट पनि बढाइएको छ । फरक दररेटमा इस्टिमेट फरकको कारण भएको छ ।’

संघीयतालाई समाप्त गर्ने खेल भएको र मानिसलाई गलत सन्देश दिने काम गरिएको भन्दै उहाँले यसलाई संस्थामाथिको आक्रमण हो भन्नुभयो ।

त्यसक्रममा राउतले संघीय सरकारले आफूहरूलाई सहयोग नगरेको भन्दै अन्य प्रदेशभन्दा कम अनुदान दिइएको आरोप पनि लगाउनुभयो ।

प्रदेश सरकारले बनाएका ऐन–नियमको कार्यान्वयनमा ब्यवधान सृजना गरिएको र संघ सरकारका कर्मचारी प्रदेशप्रति पूर्वाग्रही बनेको आरोप पनि उहाँले लगाउनुभयो ।