नरसिंह मन्दिर जीर्णोद्धारमा पुरात्वत विभागको लापरबाही « Image Khabar


नरसिंह मन्दिर जीर्णोद्धारमा पुरात्वत विभागको लापरबाही

अध्ययनविना काम थाल्दा मौलिकता मासिँदै

0
Shares

नरेन्द्र मानन्धर
काठमाडौं । ललितकलामा धनी पाटन, त्यसमाथि विश्व सम्पदा सूचीमा परेको पाटन दरबार क्षेत्र अद्वितीय सम्पदाको भण्डार हो ।

यस्तै मौलिक पहिचानले विश्वमा नेपालको बेग्लै गरिमा पहिचान बनेको छ । यसै दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पनि एक हो । १६ औं शताब्दीको अन्त्यतिर पुरन्दर सिंहले निर्माण गरिएको भनिएको यो मन्दिर अन्य मन्दिरभन्दा भिन्न र कलात्मक छ ।

शिखर शैलीमा बनेको यो मन्दिरमा प्रयोग भएका इँटाहरू फरक–फरक छन् । इँटाहरू विभिन्न आकार, कोण र बुट्टाअनुसार छुट्टा छुटै रहेको छ । कात्तिक नाचमा नचाइने नरसिंहको मुकुट राखेर निर्माण गरेको मन्दिरमा सय भन्दा बढी किसिमका इँटाको प्रयोग भएको छ ।

काठमाडौं भ्याली प्रिजभेसन ट्रस्टका साइट इन्जिनियर प्रणाम होराका अनुसार मन्दिरभित्र पानी नछिरोस् भनेर मौलिक किसिमले फरक–फरक इँटा राखिएको बताउनुहुन्छ । तर, विगतमा पुरातत्व विभागले अध्ययनविना मन्दिरको जीर्णोद्धार गर्दा मौलिकतामा हानी पुगेको उहाँको भनाइ छ ।

२०७२ सालको महाभूकम्पअघि नै जीर्ण बनेको मन्दिरमा भूकम्पले देखिने गरि क्षति नपुर्‍याए पनि अहिले यसको जीर्णोद्धार गरिँदै छ । चारै कुनामा रहेको नाग कन्या, अन्य बुट्टाको मौलिक स्वरुप नबिग्रिने गरी बनाइने छ ।

पेटी र पहिलो तल्लामा मात्र ४८ भन्दा बढी प्रकारका इँटा प्रयोग भएको छ । अहिले यस्तै आकारका इँटा बनाउन कठिन भएकाले काम सक्न चुनौतिपूर्ण रहेको होराको भनाइ छ ।

सर्वसुलभ रूपमा नपाइने यस्ता इँटाहरू बनाउन सरोकारवाला निकायले पनि सहयोग गर्नुपर्ने देखिन्छ । मन्दिरको मौलिकतालाई बचाउन संवेदनशील भएर धैर्यका साथ जीर्णोद्धार गर्नुपर्छ ।