बझाङ, असार १ । फलाम खानी पत्ता लगाउन भूगर्भविदहरुको टोली बझाङमा पुगेको छ ।
खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेसहित तीन जनाको टोली बझाङ पुगेको हो । बझाङमा फलाम खानीको सम्भावना रहेको यसअघिका अध्ययन प्रतिवेदनले देखाएका कारण कुन ठाउँमा कति मात्रामा फलाम छ भन्ने कुराको विस्तृत अध्ययन गर्नका लागि टोली बझाङ पुगेको हो ।
टोलीले तल्कोट गाउँपालिकाको भोपुर रुवातोला सडकको बयालधारमा पुगी सम्भाव्यता अध्ययन गरेको छ । टोलीले प्रयोगशालामा परीक्षण गर्न उक्त ठाउँको ढुङ्गाको नमुना लिएको महाशाखाका प्रमुख घिमिरेले बताए ।
यस ठाउँमा फलाम हुन सक्ने तर कति मात्रामा छ भनेर अहिले भन्न नसकिने जनाइएको छ । जताततै फलामै फलाम र जस्ता भेटिएका समाचार विभिन्न संचारमाध्यमले सम्प्रेषण गरेकाले खानी तथा भूगर्भ विभागका घिमिरेसहितको टोलीले स्थलगत अध्ययन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्