काठमाडौं, पुस १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्वतारोहण र पर्यटनको विषयमा पढाइका लागि पर्यटन विश्वविद्यालय स्थापनाको तयारी भइरहेको बताएका छन् ।
मंगलबार नेपाल पर्यटन बोर्डको २१औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले पर्यटनको क्षेत्रमा अझै प्रवर्द्धनको काम बाँकी भएकाले परिस्थितिअनुसार पर्यटन नीति परिवर्तनको तयारीसमेत गरिरहेको जानकारी दिए ।
नेपाल भ्रमण वर्ष एक वर्षले मात्रै पूरा नहुने भन्दै एक दशक मनाउने तयारीसमेत गरिएको जानकारी उनले दिए ।
पर्यटनको क्षेत्रमा अझैपनि पर्यटकको सुरक्षा, विमानस्थल विस्तारजस्ता विषयवस्तु बाँकी रहेकाले सरकारले त्यसका लागिसमेत तयारी गरिरहेको मन्त्री भट्टराईको भनाइ छ ।
बोर्डलाई आगामी दिनमा अझै सशक्त ढंगले अगाडि बढ्न पनि मन्त्री भट्टराईले निर्देशन दिए ।
पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी दीपकराज जोशीले आगामी दिनमा पर्यटन उद्योगको रुपमासमेत स्थापना गर्न सकिने बताए ।
बोड सदस्य दीपक महतले बोर्डमा अझैपनि कार्यविधिको अभाव रहेको भन्दै पुनःसंरचनामा जान पनि आवाश्यक रहेकामा जोड दिए ।




प्रतिक्रिया दिनुहोस्