
काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ६ जनालाई दोषी ठहर गर्दै अदालतले जन्मकैदको फैसला भएको छ ।
मंगलबार न्यायाधीश भरत लम्सालको इजलासले गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाएको हो । यस्तै, राजन कुमारलाई ३ वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको छ ।
अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन् भने फरार २१ अभियुक्तको मुद्दा मुल्तबीमा राख्दै अन्य ४८ जना आरोपीले सफाइ पाएकाे अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिनुभयाे ।
२०७४ माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । सुन गायब भएपछि तस्कर समूहको यातनाका क्रममा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो ।
घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यस प्रकरणमा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पनि आरोपित थिए ।
घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो । त्यसैगरी प्रहरी प्रधान कार्यालयले डीआईजी पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्