२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


कोठीमा बेचिएका यी किशोरीहरुको दर्दनाक कहानी (भिडियोसहित)


0
Shares

काठमाडौं, पुस १५ । नुवाकोटकी १५ वर्षीया किशोरी । जसलाई आफ्नै काका–काकीले बेचिदिए ।

काठमाडौंको एक घरमा घरेलु कामदारका रुपमा कार्यरत् यी किशोरीलाई आफ्नै काकाले भारतको चप्पल कारखानामा काम लगाइदिने भन्दै भारतको कोठी पुर्‍याएका हुन् ।

भारतको कोठीमा ६ महिना बिताएकी यिनलाई माइती नेपालको उद्धार टोलीले उद्धार गरी ल्याएको हो ।

आफ्नै काकाले भारत लग्नेक्रममा नशालु औषधि सेवन गराएको र होस खुल्दा भारतको नागाल्यान्डस्थित कोठीमा पुगेकी थिइन् ।

नेपाली चौकीदार अनि नेपाली कोठी सन्चालकको घेराभित्र परेकी उनी ६ महिनासम्म आफ्नै शरीर बेच्न बाध्य भइन् ।

१५ वर्षको कलिलो उमेर भएकाले उमेरदार देखाउन कोठीमा उनलाई ‘हार्मोन’को ‘इन्जेक्सन’समेत दिइएको थियो ।

रातारात वयस्क बनाइएका उनलाई माइती नेपालको उद्धार टोलीले ग्राहक बनेर उद्धार गर्न सफल भएको हो ।

आफ्नो देश फर्कने दाउमा रहेकी यिनले नेपालीसँग भेटेको थाहा पाएमा कोठी सन्चालकको कुटाइ पटक–पटक खानु पर्दथ्यो ।

हामीसँगको कुराकानीमा बारम्बार भक्कानिँदै यिनले अरु नेपाली दिदी–बहिनीलाई सचेत रहन आग्रह गरिन् ।

ब्युँझिदा कोठीमा…

यस्तै अर्को आँङै सिरिङ हुने कथा छ, १३ वर्षीया बालिकाको ।

तीन महिनाअघि यी बालिका आमासँगै भाइको उपचारको क्रममा काठमाडौं आएकी थिइन् ।

काठमाडौंमा रहँदा कुकुरले टोकेपछि आमाको साथीसँग ‘टिटानस’को सुई लिन गएकी थिइन् ।

त्यसबेला आमाकै साथीले बीचबाटोमा एक पुरुषसँग भेट गरी पानीपुरी खुवाएको र उही पुरुषसँग बस चढेकोसम्म याद छ, यिनलाई ।

ब्युँझिदा त भारतको नयाँदिल्लीस्थित एक कोठीमा पुगिसकेकी थिइन् यिनी । कोठीमा पुगेपछि होस खुलेको यिनलाई कोठी मालिकले साह्रै सानी छ भनेपछि दिल्लीबाट आग्रामा घरेलु कामदारको रुपमा काम गराएको र एक महिनापछि फेरि सोही कोठीमा ल्याइएको थियो ।

सो कोठीमा आमाको साथीको आफ्नै बहिनीसमेत रहेकी थिइन् । उनलाई पनि माइती नेपालले उद्धार गरी ल्याएको छ । हाल उनको स्वास्थ्योपचार भइरहेको छ ।

उनलाई भारत पुर्‍याउने व्यक्तिहरुमाथि माइती नेपालको निगरानीमा अनुसन्धान भइरहेको छ ।

छाउगोठमा सेनाका जवानबाट बलात्कृत

अर्की किशोरी, जो रक्षकबाटै भक्षक हुन पुगिन् ।

कैलालीमा यी किशोरी छाउगोठमा सुत्दा नेपाली सेनाका एक जवानबाट बलात्कृत बन्न विवश भएको पनि बताउँछिन् ।

युवतीले आफू बलात्कृत भएको खबर प्रहरी र परिवारलाई गर्दा उल्टै अपहेलना व्यहोर्न बाध्य भएको उनी बताउँछिन् ।

परिवारले इज्जत जाने डरले रातारात विवाह गराएको र श्रीमान्ले रात–दिन मादकपदार्थ सेवन गरी कुटपिट गरेपछि माइती नेपालको शरणमा आएकी हुन् ।

बलात्कारपीडित शरणमा

अर्की हुन्, सिन्धुलीकी यी किशोरी । जो काठमाडौंमा रहेको दिदी–भिनाजुको कोठामा बस्दै आएकामा कोटेश्वरको जडीबुटीमा बलात्कृत भइन् ।

बलात्कृत भएको खबर दिदी–भिनाजुलाई सुनाएपनि कुनै वास्ता नगरेकाले यिनी पनि शरण खोज्दै अहिले माइती नेपालमा आइपुगेकी छिन् ।

‘अपार्टमेन्ट’सम्म देहव्यापार

कोठीमा सीमित देहव्यापार अहिले ‘अपार्टमेन्ट’सम्मै फैलिएको माइती नेपालले जनाएको छ ।

एक वर्षसम्म माइती नेपालले भारतको २० भन्दा बढी राज्यमा छापामारी २४ सयभन्दा बढी नेपाली बालबालिका र नेपाली चेलीहरुको उद्धार गर्दा बेचविखनको दायरा कहाँसम्म पुगेको भन्ने देखिएको जनाएको हो ।

यो अभियानमा बालबालिका र नेपाली चेली बेच्ने गिरोहसमेतलाई नियन्त्रणमा लिइ मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाउन सफलता मिलेको माइती नेपालले जनाएको छ ।