Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


सहकारी ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष तथा पूर्व सांसद् इच्छाराज तामाङ पक्राउ


0
Shares

काठमाडौं । पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ ४६ करोड रुपैयाँ भन्दा बढी रकम ठगी र हिनामिनाको आरोपमा पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गएराती तामाङलाई पक्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

उनीसहित अन्य ११ जना कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको सीआइबीले जनाएको छ । सीआइबीका डिआइजी धिरजप्रताप सिंहका अनुसार निक्षेपकर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई हिजो सुन्धाराबाट पक्राउ गरिएको हो ।

तामाङले हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना गरेको उजुरी परेको पनि सीआइबीले जनाएको छ ।

नेकपा एमालेबाट संविधानसभा सदस्य बनेका तामाङले अर्थ समितिको सदस्य रहेको बेला बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया), २०७२ मा आफ्नो स्वार्थअनुकूलका एक दर्जनबढी संशोधन हालेका थिए ।