Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


मुग्लिन-नारायण सडक पटक पटक अवरुद्ध : समयमै काम नसक्दा यात्रुलाई सास्ती


0
Shares

-उपेन्द्र खनाल/ईमेज

तनहुँ । मुग्लिन नारायणघाट सडक खण्डमा पहिरो रोकथामका कामहरु भइरहेका छन् ।

मंसिर २८ गतेबाट पुस ११ गतेसम्मको लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम भए पनि त्यो समय पर्याप्त नभएपछि फेरी पुस २२ गतेसम्मको लागि समय थपिएको छ ।

मसिर २८ गतेबाट पहिरो रोकथामका लागि मुग्लिन नारायणघाट सडकको काम अघि बढाइएको हो ।

तर, तोकिएको समयसीमा पुस ११ गतेसम्ममा काम सम्पन्न नभएपछि सडक विभागले १० दिनको समय थप गरी पुस २२ गतेसम्म पुर्‍याएको छ ।

यता काम सुरु गरिएपछि राजमार्ग दिउँसो चार घण्टा बन्द भइरहेको छ । जसले गर्दा यात्रुले पनि सास्ती खेप्दै आएका छन् ।

दिउँसोको समयमा यातायातका साधन बन्द हुँदा यात्रुलाई समस्या हुने भएकाले रातको समयमा काम गर्दा राम्रो हुने यात्रुको सुझाव छ ।

सडकमा जथाभावी पहिरो जाने भएकाले पनि त्यसलाई रोक्न सडक बिभागले रोकथामलाई तिब्रता दिएको हो ।

सडक अवरुद्ध भएपछि यात्रुलाई समस्या पर्ने भएकाले छिटोभन्दा छिटो काम सकेर यातायातलाई निरन्तरता दिने उदेश्यले काम भइरहेको छ ।

काम सुरु भएँगै मुग्लिन नारायणघाट सडक खण्ड चार घण्टा अबरुद्ध भएको हो । सवारी चल्दा काम गर्न अप्ठेरो हुने भएकाले राजमार्ग नै बन्द गरी काम अघि बढाइएको छ ।

अहिले आठ ठाउँमा काम भैरहेको छ । निर्माणलाई तीव्रता दिएर समयमै काम सम्पन्न गर्ने तरिकाले काम गरिरहेको कामदार बताउँछन् ।

बेलाबेलामा जाने पहिरोले मुग्लिन नारायणघाट सडक अबरुद्ध हुँदै आएको छ भने मर्मत सम्भार पनि भैरहेको छ ।

बिहान ११ बजेदेखि तिन बजेसम्म यातायातका साधनहरु आवतजावतमा रोक लगाइएको छ । पहिरो नियन्त्रण गर्ने काम भैरहेकाले बाटो बन्द गरिएको इन्जिनियर बिष्णु लामिछानेको भनाइ छ ।

केहि दिन मुग्लिन नारायणघाट खण्डमा दिउँसो सवारी आवतजावत गर्न समस्या भएपनि निर्माण सम्पन्न भएपछि भने सहज हुने विश्वास गरिएको छ ।