काठमाडौं, साउन १७ । आगामी भदौ २ गतेदेखि इन्डोनेसियामा हुन लागेको १८औं एसियाली खेलकुदका लागि नेपाली कराँते टोली यतिबेला तयारीमा व्यस्त छ ।
अन्तर्राष्ट्रिय स्पर्धामा नेपालको शाख जोगाउने कराँते खेलका प्रशिक्षक र खेलाडीहरुले भने आवश्यक प्रशिक्षणका लागि सरकारीस्तरबाट सहयोग नपाएको गुनासो गरेका छन् ।
इन्डोनेसियाको पालेम्वाङ र जाकार्तामा एसियाली खेलकुद आयोजना हुँदैछ ।
एसियाडमा नेपालले कराँतेतर्फ ८ खेलाडी सहभागी गराउँदैछ । पुरुष र महिला ४/४ खेलाडी तीन महिनाअघि नै छनोट गरिएको हो ।
छनोट भएका खेलाडीहरुमा एकजनाबाहेक बाँकी सातजना विभागीय टोलीका रहेका छन् । पुरुष र महिला व्यक्तिगत कातामा दुई खेलाडी सहभागी हुँदैछन् भने बाँकी ६ खेलाडीले कुमुतेका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष एकल कातामा नेपाली सेनाका पर्शुराम बास्तोला र महिला एकल कातामा नेपाल प्रहरीकी चन्चला दनुवारले भाग लिँदैछिन् ।
पुरुष ५५ केजी तौल समूहमा नेपाल प्रहरीका सोनाम लामा, ६७ केजीमा काठमाडौंका नवीन रसाइली र ८४ केजीमुनि प्रहरीका दिवस श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
यसैगरी, महिलातर्फ ५० केजीमा एपीएफकी अनु अधिकारी, ६१ केजीमा प्रहरीकी सुनिता महर्जन र ६८ केजीमाथि सेनाकी रीता कार्कीले भाग लिँदैछन् ।
तीन महिनादेखि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु वैदेशिक प्रशिक्षण र प्रतिस्पर्धाको अभावले तयारी अपूर्ण रहेको बताँउछन् ।
कराँते नेपाललाई ठूला प्रतियोगितामा साख जोगाउने खेल हो । चार वर्षअघि दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियाली खेलकुदमा यही खेलले नेपालको नाक जोगाएको थियो ।
त्यतिबेला विमला तामाङले महिला एकल कातामा जितेको कास्यपदक नै नेपालको एकमात्र पदक थियो ।
यसपटक नेपाली खेलाडीहरुले आफ्नो तर्फबाट शतप्रतिशत तयारी गरे पनि माथिल्लो तहबाट हुनुपर्ने पर्याप्त सहयोग हुन नसकेको मुख्य प्रशिक्षक दीपक श्रेष्ठको बुझाइ छ ।








प्रतिक्रिया दिनुहोस्