
काठमाडौं, साउन १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पर्यटन क्षेत्रको भावी रणनीतिबारे सरोकारवालाहरुसँग छलफल गरेको छ ।
बिहीबार मन्त्रालयमा आयोजित छलफलमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि नयाँ गन्तव्यको पहिचान गर्दै बढीभन्दा बढी पर्यटक भित्र्याउन मन्त्रालयले अघि सारेको रणनीतिमा सहयोग पुर्याउन सातै प्रदेशका जनप्रतिनिधिलाई आग्रह गरे ।
उनले पर्यटनलाई उद्योगकारुपमा विकास गर्ने लक्ष्य रहेको भन्दै यसलाई आकर्षक लगानीकारुपमा विकास गर्ने बताए ।
मन्त्रालयले समावेशी र रोजगारमूलक आर्थिक वृद्धिका लागि पर्यटन क्षेत्रलाई प्राथमिकता दिने जनाएको छ ।
यसैगरी, सातओटै प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सम्भाव्य क्षेत्रको अध्ययन गर्ने पनि जनाइएको छ ।
मन्त्रालयले पशुपतिनाथ क्षेत्रलाई आध्यात्मिक केन्द्रकारुपमा विकास गरिने, लुम्बिनी र जानकी मन्दिरको गुरुयोजना सरकारी र निजी क्षेत्रको सहयोगमा चाँडै अघि बढाइने पनि जानकारी दिइयो ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन प्रवद्र्धनका लागि छोटो दूरीका रेल्वेबारे अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए ।
मन्त्री खतिवडाले पर्यटक ल्याउन गाह्रो नभएको बताउँदै अबको १० वर्षमा ५० लाख पर्यटक ल्याउनसकिने दाबी गरे ।
क्षेत्रीयस्तरको विमानस्थलको संख्या वृद्धि गर्दै उडान दोब्बर गर्न उनको सुझाव थियो ।
कार्यक्रममा उद्योगमन्त्री मातृका यादवले केही गर्न खोज्ने तर लक्ष्यसम्म पुग्न नसक्ने विडम्बना नेपालमा रहेको बताए ।
उनले बोली र व्यवहार सच्चाउँदै सबैको समन्वयवाट लक्ष्य हासिल गर्नसकिने बताए ।
नेपालमा वार्षिक ९ लाख ४० हजार पर्यटक भित्रिने गरेको र पर्यटकको औसत बसाइँ १२ दिन हुने पनि सो अवसरमा जानकारी गराइयो ।
प्रतिक्रिया दिनुहोस्