युवा संघले दुई महिने संगठन निर्माण र पुनर्जागरण अभियान सञ्चालन गर्ने « Image Khabar


युवा संघले दुई महिने संगठन निर्माण र पुनर्जागरण अभियान सञ्चालन गर्ने

पार्टीका पदाधिकारीले वार्षिक रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन बनाउन दवाव दिने

Border circle
Imagekhabar

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

युवा संघ नेपालको असोज ७ र ८ गते बसेको केन्द्रीय सचिवालय कमिटीको बैठकले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

संगठन निर्माण तथा पुनर्जागरण अभियान अन्र्तगत ७७ वटा जिल्ला, स्थानीय तह र वडा तहसम्म भेला, बैठक, कमिटी गठन तथा पुर्नगठन र प्रशिक्षणको आयोजना गरिने युवा संघ नेपालका महासचिव दिपक जिएमले बताउनुभयो ।

बैठकले सदस्यता वितरणलाई व्यापकता दिँदै कम्तिमा १ लाख ५० हजार नयाँ सदस्यहरू बनाउने निर्णय पनि गरेको उहाँले बताउनुभयो । अभियानलाई सफल पार्नका लागि देशभरका ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा ३ सय ३० जना, जिल्लामा ७७ जना र प्रदेशमा ७ जनालाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा पठाउने निर्णय गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।

युवा संघले आफ्ना हरेक कार्यक्रमहरू तोकिएको निर्धारित समयमा नै सुरु गर्ने, कार्यक्रमको मञ्चमा अध्यक्षबाहेक अरु नरहने, अध्यक्षको अध्यक्षताबाट नै कार्यक्रम सञ्चालन भएको ठानिने र संघको कार्यक्रमहरूमा खादा, माला, पुष्पगुच्छाहरू प्रयोग नगर्ने निर्णय पनि गरेको छ ।

बैठकले विधान मस्यौदा पारित गर्दै सबै कमिटीमा कम्तिमा २५ प्रतिशत रहनेगरी २५ वर्षभन्दा कम उमेर समूहलाई संगठित गर्नैपर्ने, आयोगहरूलाई पूर्ण स्वायत्तता प्रदान गर्ने, एक नीति परिषद्को व्यवस्था गर्दै नीति परिषद्लाई युवाको सन्दर्भमा छलफल गर्ने संरचना र संसदीय अभ्यास सिक्ने आन्तरिक फोरमको रूपमा विकास गर्ने लगायतका प्रावधानहरु राखिएको पनि महासचिव जिएमले बताउनुभयो ।

त्यस्तै युवा संघले २०४८ सालपछि आजसम्म उच्च सरकारी ओहादामा बसेका व्यक्तिहरू तथा पार्टीका केन्द्रीय स्तरदेखि जिल्लास्तर सम्मका र भातृ तथा जन संगठनका केन्द्रीय पदाधिकारीहरूको वार्षिक रूपमा अनिवार्य सम्पति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था गर्न सरकारलाई दबाब दिने निर्णय पनि गरेको उहाँले बताउनुभयो ।

संघले अवैध रूपमा सञ्चालन गरिएका क्रसर उद्योगहरूलाई तत्काल बन्द गराउन पनि सरकारसँग माग गरेको छ । साथै यस काममा परिचालित हुन मातहतका सबै कमिटीहरूलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

त्यस्तै यति, ओम्नी, नेपाल ट्रष्टको जग्गा भाडा, पशुपतिमा राखिएको सुनको जलारी, पशुपति क्षेत्रको भारतीय सरकारले बनाइदिएको धर्मशाला भाडामा दिने र गिरीबन्धु टि स्टेट लगायतका प्रकरणका तत्काल उच्चस्तरीय छानविन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकारलाई दवाव दिने निर्णय पनि युुवा संघले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्