
काठमाडौं, असोज १० । १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट एमाले उपाध्यक्ष भीम रावल आइतबारको केन्द्रीय कमिटी बैठकमा अनुपस्थित हुनु भएको छ ।
शुक्रबारको बैठकमा १० बुँदे कार्यान्वयनबारे प्रश्न गर्नुभएका रावललाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीकै बीचमा स्थायी समिति बसेर त्यसबारे आवश्यक निर्णय गर्ने बताउनु भएको थियो । तर अध्यक्ष ओलीले स्थायी समिति बैठक नडाक्ने बुझेपछि उहाँ केन्द्रीय कमिटी बैठकमा जानु भएन ।
यसअघि स्थायी कमिटी सदस्यबीच भएको अनौपचारिक छलफलमा रावलले आफू पार्टीको पछिल्लो अवस्था र गतिविधिबारे तत्काल नबोल्ने भन्दै केही समय मौन बस्ने बताउनु भएको थियो ।
माधवकुमार नेपालको साथ छोडेर एमालेमै बस्नु भएका उपाध्यक्ष रावलले दश बुँदे सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफू हुनुपर्ने अडान राख्दै आए पनि अध्यक्ष ओलीले सुदूरपश्चिमको इन्चार्ज माओवादी केन्द्र छोडेर आएका लेखराज भट्टलाई बनाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्