३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


दर्ता नभई अस्पताल घोषणा


0
Shares

पूर्णप्रसाद मिश्र (रासस)

काठमाडौं पुस ११ । प्रदेश नं ३ सरकारले अस्पताल स्वीकृत नगरी प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘अस्पताल’ घोषणा गरेको पाइएको छ ।

स्थानीयवासीले पाउनुपर्ने सेवा पाउन नसकेपछि सो विषय जानकारी भएको हो । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर नजिकै सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रलाई गत असार १६ गते ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १५ शय्यासहितको प्राथमिक अस्पताल घोषणा गरेका थए । हाल नगरपालिका अन्तर्गत सञ्चालन भएको अस्पताल भनेर बोर्ड राखिएको छ तर सेवा भने दिन सकेको छैन । 

अस्पतालमा पाइने सेवा पाउन नसकिएको नगरपालिकाकै दुर्गमस्थल तारेभीरबाट स्वास्थ्य सेवा लिन आउनुभएका सेवाग्राही सोमबहादुर तामाङले गुनासो गरे । तारेभीरमै नगरपालिकाको पहलमा निर्माण भएको सहरी स्वास्थ्य सेवा केन्द्र भएकाले सेवा लिन आएको तर सेवा पाउन नसकिएको उनको दुःखेसो थियो । 

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जग्गा भवन नभई रु. ५० लाख बजेट दिएर अस्पताल घोषणा गरिए पनि सेवा दिन नसकिएको स्वीकार छन् ।

अस्पताल दर्तासमेत हुन नसकेको उनले जानकारी दिए । स्वास्थ्य मन्त्रालयलगायत निकायमा अस्पताल दर्ताका लागि पहल गरिएको नगरपालिकाले जनाएको छ । वि.सं २०२८ मा स्थापना भएको स्वास्थ्य भवनमा सबै सेवा सञ्चालन हुन सक्ने अवस्था छैन । भवन बनाउन जग्गाको खोजी भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र नै चलाउन पनि भवनका कारण समस्या रहेको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए ।

प्रदेश सरकारले गत असारमै अस्पताल घोषणा गरेपछि नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य केन्द्रलाई प्राथमिक अस्पतालमा स्तरोन्नति गर्ने उल्लेख गरेको थियो ।

जसअनुसार २०७६ मङ्सिर २ गतेको नगर कार्यपालिकाको बैठकले १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । स्थानीय तह सञ्चालन ऐन २०७४ मा एउटा स्थानीय तहमा कम्तीमा एक प्राथमिक अस्पताल स्थापना गरिने उल्लेख छ ।

केन्द्रका लागि वि.सं २०७४ भदौ २३ गते स्वास्थ्य सेवा विभाग, आपूर्ति महाशाखाले किनिदिएको एक्सरेयन्त्र राख्ने ठाउँ र चलाउने जनशक्ति नभएका कारण थन्क्याएर राखिएको छ । “यो एक्सरे यन्त्र पुरानो प्रविधि हो, हाल सबै स्वास्थ्य संस्थाले डिजिटल एक्सरे चलाउन थालिसके, अब यसलाई जडान गर्ने कि नगर्ने प्राविधिकसँग सल्लाह गर्छौँ, त्यसपछि मात्र के गर्ने भन्न सकिन्छ”, स्वास्थ्य शाखा प्रमुख उपाध्यायले भने ।

नगरपालिकाको ४ नं वडा अध्यक्ष श्रीकुमार श्रेष्ठको संयोजकत्वमा रहेको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले भने हाल एक्सरेयन्त्र राख्ने कोठा बनाउने काम भइरहेको जनाएको छ । केन्द्र व्यवस्थापन समितिका सदस्य राजकुमार श्रेष्ठले निर्माण छिट्टै सम्पन्न गर्नेगरी काम भइरहेको जानकारी दिए ।

हाल केन्द्रमा निःशुल्क पाइने सबै औषधी भने पर्याप्त मात्रा रहेको जनाइएको छ । नगर क्षेत्रका एक स्वास्थ्य केन्द्र, चार स्वास्थ्य चौकी र एक सहरी स्वास्थ्य केन्द्रमा औषधी भने नियमित रुपमा पठाइएको शाखाले जनाएको छ ।

नगरपालिकाले नगर क्षेत्रमा स्वास्थ्य एवं सफाइलाई व्यवस्थित गर्न ‘स्थानीय आधारभूत स्वास्थ्य तथा सरसफाइ सेवा कार्यविधि २०७६’ मस्यौदा जारी भइरहेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।