११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


क्रिकेट रंगशाला बन्दैछ मन फुकाएर सहयोग गर्नुस : अध्यक्ष दाहाल


0
Shares

चितवन, पुस ११ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् ।

आज बिहान रङ्गशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारले रङ्गशाला निर्माणमा सहयोग गर्ने बताए ।

उनले भने, “रङ्गशालाको कामले गति लिएकामा उत्साहित भएको छु, समयमै सम्पन्न गर्नेगरी गुणस्तरीय काम गर्नुहोस्, हामी तापाईंकै साथमा छौँ ।”

उनले रङ्गशाला राष्ट्रिय गौरवको आयोजना भएको भन्दै सफल बनाउन सबै देशवासी लाग्नुपर्ने बताए ।

रङ्गशालाको स्थलगत अवलोकनपछि निर्माणको गतिले तीव्रता पाएकामा आफू खुशी भएको उनले प्रतिक्रिया दिए ।

सबै जिल्लामा सहयोग समिति गठन गरेर रङ्गशाला निर्माणमा सहयोग जुटाउन अध्यक्ष प्रचण्डले आग्रह गरे ।

उनले सबै चितवनवासीलाई मन फुकाएर सहयोग गर्न पनि आह्वान गरे ।

सो अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणमा भएको प्रगति र गुरुयोजनाबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराए ।

सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायत पनि उपस्थित थियो । रासस