११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


सुदूरपश्चिम स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक


0
Shares

कैलाली, पुस १० । ‘प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७६’ को मनोनयन सार्वजनिक गरिएको छ । अवार्ड यही पुस १५ गते धनगढीमा हुँदैछ ।

विभिन्न ६ ओटा विधामा दिइने अवार्डमध्ये बिहीबार चार विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गरी मनोनयन सार्वजनिक गरेको हो ।

सोअनुसार ‘शारदा राइस मिल वर्ष पुरुष खेलाडी’मा ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका खड्क बोहोरा र भारोत्तोलनका सागर भण्डारी मनोनयनमा परेका छन् ।

‘निसर्ग हस्पिटल वर्ष महिला खेलाडी’को मनोनयनमा क्रिकेटकी कविता कुँवर, कुस्तीकी संगीता धामी र हक्कीकी विन्दु विष्ट रहेका छन् ।

यस्तै, ‘दिनेश सोप वर्ष प्रशिक्षक’मा भारोत्तोलनका जीवन गौतम, कुस्तीका राजेन्द्र चन्द र क्रिकेटका ज्ञानेन्द्र क्षेत्री मनोनयनमा परेका छन् ।

‘केटीएम बाइक वर्ष युवा खेलाडी’को मनोनयनमा भारोत्तोलनका सागर भण्डारी, फुटबलकी चन्द्रा भण्डारी र उसुकी अलिशा खाती रहेका छन् ।

‘माया मेट्रो हस्पिटल स्पेसल अवार्ड’ र ‘ठाकुर ग्रुप लाइफटाइम अचिभमेन्ट अवार्ड’को घोषणा अवार्ड समारोहमै हुने आयोजकले जनाएको छ ।

‘चारओटा विधाका विजेतालाई जनही नगद २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ । स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड पाउनेलाई जनही नगद १० हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ’–आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले भने । 

सुदूरपश्चिम स्पोर्ट्स अवार्डका संयोजक तथा खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले अवार्डको तयारी ७० प्रतिशत सम्पन्न भइसकेको बताए ।

उनले मनोनयमा परेका तीन/तीनजना खेलाडीमध्ये पछिल्लो एक वर्षको उत्कृष्ट प्रदर्शनका आधारमा विजेता खेलाडी छनोट गरिने जानकारी दिए ।