– प्रकाश लम्साल/ ईमेज
बारा, पुस १० । कतिपय जनप्रतिनिधिहरू विकास निर्माण कार्यको ठेकेदारीमा आफैँ संलग्न भएको भन्दै आलोचना भइरहेका बेला बाराको कोहल्वी नगरपालिकामा सोही प्रवृत्ति देखिएको छ ।
विगतमा ठेक्कापट्टाको काम गर्दै आएका नगरप्रमुखले जनप्रतिनिधि भइसकेपछि पनि अप्रत्यक्ष रुपमा त्यसलाई निरन्तरता दिएको आरोप लागेको हो । नगरप्रमुखले नातागोता र आफन्तमार्फत् विकासका काममा एकाधिकार जमाएको भन्दै बाराको कोहल्वी नगरपालिकामा विरोध सुरु भएको छ ।
अधिकारको दुरुपयोग तथा कर्मचारी समेत अस्तव्यस्त बनेपछि नगरप्रमुख भरत भण्डारीविरुद्ध अन्य जनप्रतिनिधि र स्थानीयवासी आक्रोशित बनेका हुन् ।
बाटोको ठेक्का लिई मनलाग्दी खन्दै हिँड्ने, कामको उचित मूल्यांकन नगर्ने तथा ठेक्का प्रणालीलाई प्रश्रय दिने गतिविधिमा मेयर संलग्न भएको स्थानीयको आरोप छ ।
नगरप्रमुख भण्डारीले आफ्नै सालालगायतका व्यक्तिमार्फत् गत साउनमा निर्माण गरेको सडकको कालोपत्रे काम पूरा नहुँदै बिग्रिएको स्थानीय पे्रमा अधिकारीको गुनासो छ ।
नगरपालिकाभित्रका काममा मात्र होइन प्रदेश सरकारअन्तर्गतका काममा समेत नगरप्रमुखको अनुचित संलग्नता देखिएको स्थानीयको आरोप छ ।
नगरप्रमुखले कमाउने धन्दा गर्नुभन्दा पनि इमान्दारपूवर्क जनताको सेवामा लाग्नुपर्ने जनप्रतिनिधि बलराम अधिकारीको भनाइ छ ।
उपभोक्ता समितिमा आफन्त र आफूअनुकूलका व्यक्तिलाई राखिएको र सोही माध्यमबाट काममा अनियमितता भइरहेको नगरवासीले बताउँदै आएका छन् ।
यता नगरप्रमुख भरत भण्डारी भने वडाहरुले विकासका काममा आफूसँग भएका उपकरणहरु प्रयोग गर्न लैजाने गरे पनि आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्छन् ।
स्थानीय र अन्य जनप्रनिधि भने विकास बजेट मेयरले आफ्ना आसेपासेलाई मनलाग्दी बाँडेको आरोप लगाइरहेका छन् ।
निर्वाचित जनप्रनिनिधिमाथि यस्ता गम्भीर आरोप लगाइँदा पनि नियामक निकायले छानबिनमा तदारुकता नदेखाउनु झन् दिक्दारलाग्दो छ ।








प्रतिक्रिया दिनुहोस्