
काठमाडौं, पुस ९ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तेस्रो चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । तेस्रो चरणको पहिलो खेलमा उपाधि दावेदार मानिएको मच्छिन्द्र क्लवले फ्रेण्ड्स क्लबको सामना गर्नेछ ।
यो खेल मध्यान्ह १२ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ । आजै हुने दोस्रो खेल दशरथ रंगशालामा दिनको ३ बजे च्यासल युथ क्लब र एनआरटीबीच हुनेछ ।
च्यासलका खेलाडी सन्तोष साहुखल आजको खेलमा गोल गर्दै ए डिभिजन लिगमा आफ्नो गोल संख्या सय पुर्याउन चाहन्छन् ।
यसैबीच अखिल नेपाल फुटबल संघ एन्फाले जारी ए डिभिजन लिग फुटबलमा दर्शक बढाउन विभिन्न पुरस्कार योजना ल्याएको छ ।
दर्शकहरुका लागि ल्याइएको पुरस्कार योजनामा राष्ट्रिय टिमको जर्सी प्राप्त गर्नेदेखि नेपाली खेलाडीहरुसंग खेल हेर्न विदेश भ्रमणमा जानेसम्मको अफर रहेको छ । एन्फाले हिजो पत्रकार सम्मेलन गरी हरेक चरणको खेलको समाप्तिपछि पुरस्कार बाँड्ने जनाएको छ ।
दुई सय रुपैयाँको टिकट काट्ने २० जनालाई आकर्षक पुरस्कार र पाँच सयको टिकट काट्ने ५ जनालाई राष्ट्रिय टिमको जर्सी प्रदान गरिने छ ।
तेस्रो चरणदेखि १३ औं चरणसम्म दुई सय ७५ जना पुरस्कृत हुने एन्फाले जनाएको छ । त्यस्तै प्रतियोगिता सकिएपछि दुई जनाले राष्ट्रिय फुटबल टिमसंग विदेश भ्रमणको अवसर पाउने एन्फाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्