२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


धरहरा पुनःनिर्माणको ‘३३ प्रतिशत काम सकियो’


0
Shares

काठमाडौं, पुस ८ । धरहरा पुनःनिर्माणको ३३ प्रतिशत काम सकिएको छ ।

अबको एक वर्षभित्रै धरहरा पुनःनिर्माण सक्ने पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

विनाशकारी भूकम्पपछि लामो समयसम्म बन्न नसकेको धरहरा गत वर्ष पुस महिनाबाट पुनःनिर्माणको काम सुरु भएको थियो । सो पुनःनिर्माणको काम तीव्रगतिमा भइरहेको जनाइएको छ ।

अत्याधुनिक डिजाइनसहित २२ तलाको बन्ने धरहराको अहिले तेस्रो तला बनिसकेको छ भने चौथो तलाको काम भर्खरै सुरु भएको हो ।

पुनःनिर्माण प्राधिकरणले मंगलबार धरहराको अवलोकन भ्रमणपश्चात् अबको एक वर्षभित्रै सक्ने दाबीसमेत गरेको हो ।

प्राधिकरणले पुनःनिर्माणको ठेक्का रमन कन्सट्रक्सन जेभीलाई दिएको थियो ।

करिब २९ रोपनी जग्गामा फैलने धरहरा परिसरमा म्यूजियम, लाइब्रेरी, आकर्षक बगैंचाको साथै पार्किङस्थलसमेत बन्न लागेको हो ।

धरहरा पुनःनिर्माणको क्रममा काठमाडौं मलको पछिल्लो केही भाग पनि केही दिनमा नै भत्काइ काम सुरु गर्ने प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले जानकारी दिए ।

निर्माणको ठेक्का पाएदेखि नै कम्पनीले समयमै काम सम्पन्न गर्नका लागि काम गरिरहेको परामर्शदाता अशोक मल्लले बताए ।

पहिला केही अवरोध आएपनि अहिले भने कुनै समस्या नआएको रमन कन्सट्रक्सनका कार्यकारी निर्देशक रमन महतोले जानकारी दिए ।

हरेक १४ दिनमा एक तला थप्ने लक्ष्यसहित एक महिनामा दुई तला थपेर अब ९ महिनाभित्रै धरहराको काम सक्ने लक्ष्य निर्माण कम्पनीको छ ।

कम्पनीले काम समयमै सक्नका लागि बिहान, बेलुका र दिउँसो तीनओटै ‘सिफ्ट’मा काम भइरहेको जनाएको छ ।