
पोखरा, पुस ७ । साविक विजेता पोखरा पल्टन दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटबाट बाहिरिने पहिलो टोली बनेको छ ।
सोमबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा एक्सपर्ट धनगढीसित ५ विकेटले पराजित हुँदै पोखरा प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको हो ।
पोखरा रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १६ ओभर ३ बलमा ‘अलआउट’ हुँदै ७९ रन बनाएको थियो ।
आसिफ शेखले ३२ तथा विनोद भण्डारीले १२ रन बनाएको इनिङ्समा बाँकी कुनै खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।
धनगढीका अनिल खरेलले ३ तथा दीपक पुनिया, कमलसिंह ऐरी र सागर ढकालले सामान २/२ विकेट लिए ।
जवाफमा पोखराले दिएको ८० रनको सामान्य चुनौती धनगढीले ९ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
‘अलराउन्डर’ पुनियाले १६ बलमा २५ रन बनाए । खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै उनले १० हजार रुपैयाँ पाए ।
यो खेलमा पराजित पोखरा ५ खेलबाट मात्र २ अंक जोड्दै पुछारमा रहेको छ ।
धनगढीको ‘प्लेअफ’ सम्भावना कायमै
जितसँगै ४ अंकसहित चौथो स्थानमा रहेको धनगढीको ‘प्लेअफ’ सम्भावना कायमै रहेको छ ।
धनगढी प्लेअफमा पुग्न आफ्नो अन्तिम खेलमा २ अंकबाट पाँचौं स्थानमा रहेको विराटनगर टाइटान्स पराजित हुनुपर्ने हुन्छ ।
६ टोली सहभागी पीपीएलमा ४ खेलबाट शतप्रतिशत नतिजासहित ८ अंकको चितवन राइनोज शीर्ष स्थानमा रहेको छ ।
६ अंकबाट बुटवल ब्लास्टर्स दोस्रो तथा ४ अंकबाट काठमाडौं गोल्डेन वारियर्स तेस्रो स्थानमा छ ।
मंगलबार चितवन र काठमाडौं तथा बुधबार लिग चरणको अन्तिम खेलमा बुटवल र विराटनगर खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्