
काठमाडौं, पुस ७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब लगातार दोस्रो जितसहित शीर्ष स्थानमा पुगेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै मनाङ शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा पुगेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम ‘इन्जुरी’ समयमा गोल गर्दै मनाङले महत्वपूर्ण ३ अंक हासिल गरेको हो ।
इन्जुरी समयको तेस्रो मिनेटमा दयानन्द सिंहले निर्णायक गोल गरेका हुन् ।
इन्जुरीको अन्तिम मिनेटमा आर्मीका सुमन अर्याल दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
मनाङले पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० ले पराजित गरेको थियो । आर्मीले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ ले हराएको थियो ।
थ्रीस्टारले पुलिसलाई हरायो
सोमबारको दोस्रो खेलमा थ्रीस्टार क्लबले नेपाल पुलिस क्लबलाई पनि १–० ले नै हरायो ।
थ्रीस्टारलाई जिताउन सुशील राईले खेलको ८४औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
थ्रीस्टारको भने यो पहिलो जित हो । पहिलो खेलमा थ्रीस्टार जावलाखेल युथ क्लबसित गोलरहित बराबरीमा रोकिएको थियो । पुलिसले पहिलो खेलमा हिमालयन शेर्पा क्लबसित गोलरहित बराबरी नै खेलेको थियो ।
मनाङको ६ अंक
दोस्रो चरणको समाप्तिसम्म मनाङ ६ अंकसहित शीर्ष स्थानमा पुगेको छ । मच्छिन्द्र क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र थ्रीस्टार क्लबको समान ४/४ अंक छ ।
फ्रेन्ड्स र सरस्वती युथ क्लबले अंकको खाता खोलेका छैनन् ।
तेस्रो चरणका खेलहरु बुधबारदेखि हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्