
काठमाडौं, पुस ७ । सरकारले काठमाडौंको चोभारमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने भएको छ । चोभारमा खाली रहेको सरकारी जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने योजना रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो ।
नेपाल भ्रमण वर्षको तयारीबारे बैंक, बीमा तथा अन्य वित्तीय संस्थाको प्रतिनिधिहरुसँगको छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सम्मेलन केन्द्र निर्माणको योजना सुनाउँदै लगानी गर्न बैंकहरुसमक्ष प्रस्ताव पनि राखे ।
चोभारमा खाली रहेको ८ सय रोपनी सरकारी जग्गामा ठूलो संख्यामा मानिस अट्ने क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने योजना सुनाउँदै उनले यसका लागि ८/१० अर्ब लगानी लाग्ने जानकारी दिए ।
अत्याधुनिक सम्मेलन केन्द्रसहित दुई वटा पाँचतारे होटेल बनाउन पुग्ने जग्गा रहेको जानकारी दिँदै अधिकारीले लगानीका लागि बैंकहरुलाई आह्वान गरेका हुन् । एक हजारभन्दा बढी सवारी साधन पार्किङ र एक लाखभन्दा बढी मानिसलाई क्याटरिङको व्यवस्थापन गर्न सकिने पनि उनले सुनाए ।
रारा, खप्तडलगायतका पर्यटकीय स्थानमा पूर्वाधार विकासका लागि लगानी गर्न पनि बैंकहरुलाई अधिकारीको आग्रह थियो ।
बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने बैंकहरुले परियोजनामा आफैं लगानी गर्न नसक्ने तर लगानीकर्तालाई ऋण प्रवाह गर्न सकिने सुझाए ।
प्रतिक्रिया दिनुहोस्